साबुनपानीले राम्ररी हात धुँदा कोरोना भाइरस मात्र नभएर थुप्रै संक्रमणहरूबाट बच्न सकिने

कोशिस मल्टिमेडिया
१ महिना पहिले
साबुनपानीले राम्ररी हात धुँदा कोरोना भाइरस मात्र नभएर थुप्रै संक्रमणहरूबाट बच्न सकिने

एजेन्सी । नियमित रूपमा प्रक्रिया पुर्‍याएर साबुनपानीले राम्ररी हात धुँदा कोरोना भाइरस मात्र नभएर थुप्रै संक्रमणहरूबाट बच्न सकिन्छ ।
साबुनपानीले राम्ररी धोएर वा ह्यान्ड सेनिटाइजरको प्रयोग गरी हातलाई सफा राख्दा थुप्रै प्रकारका संक्रमणजन्य रोगको रोगथाम गर्न सकिन्छ ।

मौसमी रुघाखोकी, श्वासप्रश्वासबाट सर्ने रोग, निमोनिया, झाडापखाला, हैजा, ग्यास्ट्रोइन्ट्राइटिस, टाइफाइड, क्षयरोग, हेपाटाइटिस ‘ए’ र ‘ई’, जुका, चुर्ना, छाला तथा आँखासम्बन्धी रोगलगायत थुप्रै रोगको संक्रमणबाट बच्नका लागि नियमित हात धुनुपर्ने कुरामा डाक्टर तथा विज्ञहरू जोड दिँदै आएका छन् ।

विशेषज्ञका अनुसार संक्रमण फैलन नदिने हो भने हात धुनु सबैभन्दा बढी प्रभावकारी तरिका हो । अन्य व्यक्तिलाई छुँदा मात्र पनि रोग फैलन सक्ने भएकाले हात धुनु अत्यावश्यक मानिन्छ ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन ९सीडीसी०ले बताएअनुसार संक्रमित मानिसले छोएको ठाउँमा दुई घण्टाभन्दा बढी समयसम्म कीटाणु जीवित रहन सक्छ ।

स्वस्थ मानिसले कुनै दूषित वस्तु वा सतहलाई छुँदा उसको हातमा फोहोरसहित कीटाणु पनि टाँसिन्छ ।

त्यही हात अनुहार, आँखा, मुख तथा नाकमा छुँदा संक्रमण हुने सम्भावना अधिक रहन्छ ।

त्यसैले नियमित रूपमा सही तरिकाले साबुन पानीले हात धुनु नै कीटाणुलाई हटाउने एउटा सबैभन्दा राम्रो विधि हो ।

संक्रामक रोग हातको सरसफाइमा हुने कमीले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिने हुँदा नियमित रूपमा साबुनपानीले हात धुँदा मौसमी रुघाखोकीलगायत श्वासप्रश्वासबाट सर्ने रोगको जोखिम ५० प्रतिशतसम्म कम हुन्छ ।

आजकाल जीवाणु र विषाणुजन्य संक्रमण बढी हुने भएकोले पैसा, मोबाइल, किबोर्ड, ढोकाको ह्यान्डल, स्वीचलगायत धेरै व्यक्तिको सम्पर्कमा आउने सामान छोएपछि समेत हात धुन सल्लाह दिन थालिएको छ ।

कोशिअनलाइनबाट साभार

तपाईको प्रतिक्रिया