शालीन, बौद्धिक र विकासप्रेमी नेतृत्वको दाबी:काठमाडौं–२ मा मणिराम फुयालप्रति बढ्दो भरोसा

कोशिस मल्टिमेडिया
२ हप्ता पहिले

Share

निर्मला सापकोटा सन्जेल /१३ फागुन,काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्य उम्मेदवार मणिराम फुयालप्रति मतदाताको भरोसा र उत्साह बढ्दै गएको देखिएको छ। शालीन स्वभाव, स्पष्ट विचारधारा र बौद्धिक व्यक्तित्वका धनी फुयाललाई यस क्षेत्रको समस्यासँग नजिकबाट परिचित र समाधानमुखी नेतृत्वका रूपमा हेरिन थालिएको छ। स्थानीय मुद्दा पहिचान गरी दीर्घकालीन समाधानसहित अघि बढ्ने उनको प्रतिबद्धताले मतदातामा नयाँ आशा जगाएको बताइन्छ।


वि.सं. २०२२ साल माघ २९ गते कागेश्वरी मनोहरा नगरपालिका–६ (साविक मूलपानी गाविस )मा मध्यम परिवारमा जन्मनुभएका फुयाल शिक्षाशास्त्रमा स्नातकोत्तर र वाणिज्यशास्त्रमा स्नातक हुन्। वि.सं. २०४९ सालदेखि शिक्षण पेशामा प्रवेश गरेका उनले सुयोग्य अध्यापकका रूपमा विभिन्न तहमा जिम्मेवारी सम्हालेका छन्। वि.सं. २०६५ देखि २०७३ साल चैतसम्म नेपाल राष्ट्रिय निर्माण माध्यमिक विद्यालय, मूलपानीको प्रधानाध्यापक तथा प्राचार्यका रूपमा कार्य गर्दै शैक्षिक सुधार, व्यवस्थापन सुदृढीकरण र गुणस्तरीय शिक्षामा उल्लेखनीय योगदान पुर्‍याएका थिए। उनको नेतृत्वमा विद्यालयले शैक्षिक र प्रशासनिक दुवै क्षेत्रमा सुधार अनुभव गरेको सहकर्मीहरू बताउँछन्।

प्रधानाध्यापकका रूपमा उनले केवल प्रशासनिक जिम्मेवारी मात्र सम्हालेनन्, बरु शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै सक्षम शैक्षिक जनशक्ति निर्माणमा योगदान दिए। निडर र स्पष्ट वक्ताका रूपमा चिनिने फुयालले शिक्षाक्षेत्रसँगै सामाजिक र राजनीतिक क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय फुयाल अनेरास्ववियु हुँदै २०४१ सालमा पिपुल्स क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि भूमिगत रूपमा सञ्चालित नेकपा ९एमाले०को संगठनमा आवद्ध भई गाउँ, इलाका र जिल्ला तह हुँदै हाल राजधानी प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय छन्। २०७४ सालमा प्रदेशसभा सदस्य, काठमाडौं–२ बाट निर्वाचित भई संसदीय अनुभवसमेत हासिल गरेका उनले आफ्नो राजनीतिक यात्रालाई जनमुखी विकाससँग जोड्दै आएका छन्।
पूर्वाधार विकास, खानेपानी व्यवस्थापन, सडक स्तरोन्नति, सामाजिक तथा पर्यटकीय प्रवर्द्धनसँगै भ्रष्टाचारमुक्त प्रशासन र पारदर्शी नेतृत्व निर्माणलाई आफ्नो प्राथमिकता रहेको फुयाल बताउँछन्। दीर्घकालीन सोच र भावी पुस्ताले समेत लाभ लिन सक्ने विकास दृष्टिकोणसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले फागुन २१ गते हुने निर्वाचनमा ‘सूर्य’ चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन सम्पूर्ण मतदातासँग अपिल गरेका छन्।
काठमाडौं–२ मा अनुभवी, शैक्षिक पृष्ठभूमि सम्पन्न र विकासप्रेमी नेतृत्वको खोजी भइरहेका बेला मणिराम फुयालको उम्मेदवारीलाई धेरैले सम्भावनायुक्त विकल्पका रूपमा हेरेका छन्।

 

तपाईको प्रतिक्रिया