महान काम बन……

नर हौ तिमी निराश नभै आशाको त्यो दीप बाल
मनभित्रका काला, मैला, दुषित भाव सवै फाल ।
कहाँ हिँड्छौ भौतारिई आफैँभित्र फर्कि हेर
कस्तुरी छ तिमीभित्रै नफाल है त्यसलाई खेर ।

शक्ति छ है दुई पाउमा संसारलाई बोक्न सक्ने
आँधी, हुरी जे आए नि ती करले रोक्न सक्ने ।
हृदय छ तिम्रो विशाल अनन्त नै अटाउने
शक्तिशाली मस्तिष्क छ सवै काम खटाउने ।

मनै शत्रु मनै मित्र यसलाई तिमी पहिचान गर
मनको वेगलाई रोक्न सके जित्छौ तिम्ले योे संसार ।
परमशक्ति तिमीमाथि मनको आँखा खोली हेर
सारा विश्व तिम्रो नै हो सवै तिर प्रकाश छर ।

जन्म लियौ मनुष्यको व्यर्थै गछौं चिन्ता किन ?
अमूल्य छ जीवन तिम्रो खुशी मनाउ हरेक क्षण ।
तिमीमाथि अस्तित्वले सारा शक्ति खनाएको
सवैभन्दा शक्तिशाली मस्तिष्क छ बनाएको ।

जति सक्छौ गर तिमी यसको उपयोग
सुस्ताउने बेला हैन उठ अब जाग ।
संसाररुपी वगैचामा मीठा फल रोप
जस्तो रोप्छौ त्यस्तै पाउछौ यही तिम्ले सोच ।

तिमी सबको भलो सोच तिमीलाई सोच्ने संसार छ नि
निर्माताले पठाएको यो संसारमा तिमीलाई छानी ।
अस्ताउदो होइन तिमी उदाउदो घाम बन
प्रयोजनले आयौ तिमी अब महान काम बन ।

महालक्ष्मी आचार्य
मनोेसामाजिक परामर्शदाता

 

फेसबुक प्रतिक्रिया