
नारीकोसिस डटकम/असार ७, रौतहट । जिल्लाका बाढीप्रभावित बस्तीमा निःशुल्क शिविर सञ्चालन गरिएको छ। बाढीको पानीले प्रभावित बस्तीमा विभिन्न रोगको महामारी नफैलियोस् भन्ने उद्देश्यले नेपाल प्रहरीले जिल्लाको गौर र राजदेवी नगरपालिकामा शिविरको अयोजना गरेर बिरामीको स्वास्थ्य परीक्षण गरेको हो।
गौर नगरपालिका–२ महादेवपटी र राजदेवी नगरपालिकाको मुडवलवामा आयोजित शिविरमा पाँच सय तीन जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क रूपमा औषधिसमेत उपलब्ध गराएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। जसमा महादेवपटीमा दुई सय ५२ र मुडवलवामा दुई सय ५१ बाढीपीडितको स्वास्थ्य परीक्षण गरिएको थियो।
गत असारको अन्तिम साता बाग्मती र लाल बकैया नदीमा आएको भीषण बाढीका कारण बस्तीहरू डुबानमा परेर भण्डारण गरिएको खाद्यान्न, लताकपडा नष्ट हुनुका साथै चापाकलमा समेत बाढीको पानी पसेर दूषित भएपछि प्रभावित बस्तीमा विभिन्न रोगव्याधिको महामारी फैलिन सक्ने सम्भावनालाई मध्य नजर गर्दै नेपाल प्रहरी अस्पताल काठमाडौंबाट आएको दक्ष चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधि वितरण गरिएको रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले बताए। शिविरमा आउनेहरू ज्वरो, झाडापखाला, रुघाखोकी, छालारोगलगायत रोगबाट ग्रसित हुने बढी रहेको उनको भनाइ छ।
यसैगरी ३६औं बिपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले जिल्लाको गढीमाई नगरपालिका–३ गम्हरियामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर चार सयजनाको स्वास्थ्य परीक्षण गरेका छन्। बाग्मती नदीका बाँध फुटेर बस्तीमा बाढीको पानी पस्दा ठूलो क्षति भएको थियो। प्रभावित बस्तीमा आयोजना गरिएको शिविरमा ज्वरो, पखाला, पेट दुख्ने, ग्यास्ट्रिक, छाला रोग, ढाड दुख्नेलगायत बिरामीको स्वास्थ्य परीक्षण गरिएको विद्यार्थी नेता सुमन गौतमले बताए।
शिक्षण अस्पतालबाट डा.सागर अधिकारीको नेतृत्वमा आएको ६ सदस्यीय टोलीले बिरामीको जाँच गरेका हो। सो शिविरमा नेविसंघका पूर्वमहामन्त्रीत्रय मनोजमणि आचार्य, प्रतिमा गौतम र दीपक भट्टराई, गढीमाईका मेयर श्यामप्रसाद यादवको उपस्थिति थियो।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो