
काठमाडौं । कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्ड र पर्यटन बोर्डले राखेको आधिकारिक स्टललाई लिएर विवाद देखिएको छ । केही फिल्मकर्मीले उक्त स्टल सीमित फिल्मको प्रचारमा मात्र केन्द्रित भएको आरोप लगाएका छन् भने बोर्डले त्यसको खण्डन गर्दै आफ्नो उद्देश्य नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नु रहेको बताएको छ ।
निर्देशक दीपक रौनियारले सामाजिक सञ्जालमार्फत असन्तोष जनाउँदै बोर्डको आलोचना गरेका छन् । उनले फेस्टिभलको ‘अफिसियल सेलेक्सन’ मा परेको नेपाली फिल्म ‘एलिफेन्ट इन द फग’को पोस्टर समेत स्टलमा नराखिएको भन्दै आपत्ति जनाएका हुन् ।
रौनियारले नेपाललाई विश्व फिल्मको नक्सामा चिनाउने अवसरको रुपमा कान्स स्टललाई प्रयोग गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको टिप्पणी गरेका छन् । उनले विगतमा निर्माता रामकृष्ण पोखरेलले निजी स्तरबाट नेपाल र नेपाली सिनेमाको प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै अहिले सरकारी सहभागिता प्रभावकारी हुन नसकेको बताएका छन् ।
उनले बोर्डले विज्ञप्तिमार्फत जारी गरेको स्पष्टीकरणप्रति पनि असन्तुष्टि जनाएका छन् । सार्वजनिक सूचना निकालेर फिल्मकर्मीलाई आफैं सामग्री पठाउन आग्रह गर्नु व्यवहारिक र सम्मानजनक नभएको उनको भनाइ छ ।
रौनियारको अभिव्यक्तिपछि अभिनेता महेश त्रिपाठीसहित अन्य केही फिल्मकर्मीले पनि सामाजिक सञ्जालमा असन्तोष व्यक्त गरेका छन् ।
बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै आरोपहरूको खण्डन गरेको छ । बोर्डले पर्यटन बोर्डसँगको सहकार्यमा पहिलोपटक आधिकारिक स्टल राखिएको जनाएको छ । उक्त स्टलको स्थानीय व्यवस्थापन बेलायतमा रहेको नेपाली कम्पनी ‘शाही प्रोडक्सन’ले गरिरहेको उल्लेख गरेको छ ।
स्टलको उद्देश्य नेपाली चलचित्र, छायांकन सम्भावना, सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय सहकार्यलाई विश्व बजारमा प्रवद्र्धन गर्नु रहेको बोर्डको भनाइ छ । यसका लागि गत फागुनमै सार्वजनिक सूचना जारी गर्दै इच्छुक फिल्मकर्मीलाई पोस्टर, ट्रेलर र प्रचार सामग्री पठाउन आग्रह गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
बोर्डले ‘एलिफेन्ट इन द फग’लाई विशेष प्राथमिकतामा राखेर समेट्ने तयारी गरिएको दाबी गरेको छ । निर्माता अनुप पौडेल र निर्देशक अविनाशविक्रम शाहलाई बोर्डमा बोलाएर बधाई तथा शुभकामना दिइएको र स्टलमा फिल्मलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने विषयमा छलफल भएको पनि बोर्डले जनाएको छ ।
तर, आवश्यक प्रचार सामग्री समयमै उपलब्ध नभएका कारण स्टल पूर्ण रुपमा व्यवस्थापन गर्न कठिन भएको बोर्डको भनाइ छ । नेपाल सरकारको वैदेशिक भ्रमणसम्बन्धी नीतिगत व्यवस्थाका कारण अन्तिम समयमा प्रतिनिधि पठाउन समस्या परेको र स्थानीय साझेदारमार्फत स्टल सञ्चालन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
अहिले बोर्डको कान्स स्टलमा निर्देशक प्रदीप शाही र अभिनेता प्रदीप खड्काले आफू संलग्न फिल्मको पोस्टर राख्दै फोटो सार्वजनिक गरिरहेका छन् । फोटो बाहिर आएपछि विरोध आउन थालेको हो ।
शाहीले निर्देशन गरेको ‘एक्लो’ लगायतका फिल्मको पोस्टर त्यहाँ देख्न सकिन्छ । तर, अहिलेको अफिसियल सेलेक्सन मात्र होइन, बोर्डलाई प्रचारका लागि उपलब्ध गराइएका फिल्मको प्रचार सामग्री राखिएको छैन ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो