
जेठ २३, ओखलढुङ्गा । सुनकोशी नदी किनारमा रहेको ढेबुवाघाटमा खानेपानीको चरम अभाव छ । नजिकै खोला बगिरहेको भए पनि गाउँमा पानीको अभाव बढ्दै गएको हो । ढेबुवाघाटका माझीले पिउँदै गरेको पानीको मुहान सुकेपछि खानेपानीकोे समस्या झन् बढ्दो छ ।
सुनकोशी गाउँपालिका–१ ढेबुवाघाटका माझी समुदायका स्थानीय वर्षौँदेखि नदीको दुषित पानी पिउन बाध्य छन् । उनीहरुले विगत नौ वर्षदेखि नदीको पानी खानेपानीका रुपमा प्रयोग गर्दै आएका हुन् । पानीको स्रोत नहुँदा वर्षामा सुनकोशीमा बाढी आउने भए पनि आफूहरुले नदीकै पानी पिउनुपरेको स्थानीय रहबहादुर माझीले बताउनुभयो ।
गत वर्ष सुनकोशी गाउँपालिकाले पम्पसेट निर्माण गरेर खानेपानीको सुविधा दिने प्रयास गरे पनि अन्य मुहान नभएको भन्दै सुनकोशी नदीकै पानी गाउँमा पु¥याइएको छ । “शुरुशुरुमा नदी किनारबाट शुद्ध खानेपानी निकाल्ने तरिका हामीलाई थाहा थिएन”, उहाँले भन्नुभयो, “निकै वर्षसम्म फोहर पानी खाइयो, अहिले नदी किनारमा पोखरी खनेर पानी निकालेका थियौँ ।” त्यो पोखरी पनि सुनकोशीमा आएको बाढीले पुरिएको र पम्पमार्फत आउने पानी बढी धमिलो आउने गरेको उहाँको भनाइ छ । अहिले स्थानीयवासी नदीमा बगेर आएको गन्हाउने धमिलो पानी पिउन बाध्य छन् ।
ढेबुवाका स्थानीयवासीलाई नदीको फोहर पानी खानाले विभिन्न किसिमका रोगले सताउने गरेको छ । “पानीकै कारणले बेला–बेलामा पेट दुख्ने, झाडापखाला लाग्ने गर्छ”, रहबहादुर भन्नुहुन्छ, “हिउँदमा भन्दा बर्खामा बढी बिरामी भइन्छ ।” ढेबुवाघाटमा सात घरपरिवारका करीब ६० जना बस्छन् । बालबलिका तथा वृद्धवृद्धालाई दुषित खानेपानीका कारणले लाग्ने रोगले अलि बढी सताउने गरेको छिमेकी गाउँ सिन्धुली रत्नवतीका शरण माझीले बताउनुभयो । वडा कार्यलयले गत वर्ष रु पाँच लाखको लागतमा पम्पसेट निर्माण गरेको भए पनि वैकल्पिक मुहान नहुँदा सुनकोशीको धमिलो पानी पिउनुपर्ने स्थानीयवासीको बाध्यता हटेको छैन । (रासस)













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु