राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

नारीकोसिस डटकम पुस २, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले बुधबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । राष्ट्रियसभा निर्वाचन आउँदो माघ ९ गते हुने यसअघि नै तय भइसकेको छ ।
सार्वजनिक तालिकाअनुसार यही पुस १७ गते मतदाता नामावली प्रकाशित गरिनेछ । सोही दिन प्रकाशित नामावलीउपर दाबी–विरोधको उजुरी दिन सकिनेछ ।
उजुरीउपर छानबिन गरी आयोगले पुस १८ गते राष्ट्रियसभा निर्वाचनको अन्तिम नामावली प्रकाशित गर्नेछ ।
यस्तै, पुस २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ । सोही दिन मनोनयनपत्र दर्ता गराएका उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।
पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । आयोगले पुस २२ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्नेछ । पुस २३ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।
आयोगले उम्मेदवारले नाम फिर्ता लिनका लागि पुस २४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरेको छ ।
पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । आयोगले सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्नसमेत प्रदान गर्नेछ ।
माघ ९ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।
तपाईको प्रतिक्रिया