ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सुरु

नारीकोसिस/डटकम फागुन २०, काठमाण्डौं । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताए ।
उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेको मापदण्डअनुसार रानोपोखरीको पुनर्निर्माण गर्ने बताए । उनका अनुसार, रानीपोखरी पुनर्निर्माणमा ४० जना खटिएका छन् । आवश्यकता अनुसार कालिगढहरुको संख्या बढाउने छ ।
रानीपोखरीको पिंध एवं पर्खाल निर्माण उपभोक्ता समितिमार्फत र रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण तथा सौन्दर्यकरण कार्य निर्माण व्यवसायीमार्फत् गर्ने प्राधिकरणले जनाएको छ ।
मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।
तपाईको प्रतिक्रिया