जीवन के हो ? प्रतिभाशाली साहित्यकार झमक घिमिरे बाट सिक्नै पर्ने पाठ……(भिडियोसहित)

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
जीवन के हो ? प्रतिभाशाली साहित्यकार झमक घिमिरे बाट सिक्नै पर्ने पाठ……(भिडियोसहित)

Share

निर्मला सापकोटा सञ्जेल र सुनिता तामाङ । संघर्षशील सफल नारीको जीवन कथाको रिर्पोटिङको क्रममा हामी काठमाण्डौंदेखि धनकुटासम्म पुग्यौं । अर्थात् प्रतिभावान् साहित्यकार झमक घिमिरेको जन्मथलो धनकुटाको कचिडे । घिमिरेको घर धनकुटा बजारबाट करिव तीन किलोमिटरको बाटो हुँदै जानुपर्ने रहेछ । साथी सुनिता र म अटो चढेर झमकको घर पुग्यौँ । झमक बिहानको ७ वजे उठ्ने रहिछन् । हामी त्यहाँ पुग्दा उनी उठेर शौचालय जानका निमित्त आफ्नो सुत्ने कोठाको ढोकाबाट बाहिर आफैँ घिस्रिँदै निस्ँकिदै थिइन् । शौचालयसम्म भने आफ्नी बहिनी मिनाले बोकेर पुर्याइन् । त्यतिञ्जेल हामी आमासँग भलाकुसारी गर्यौ। करिव दश मिनेट पश्चात् बहिनी मिनाले झमकलाई पछाडि ढाँडमा बोकेर कोठाभित्र ल्याइन् । ओछ्यानसम्म भने झमक आफैँ घिस्रेर चढिन् त्यसपश्चात् आमाले चिया ल्याएर झमक र हामीलाई दिनुभयो । विहानको चिसो चिसो मौसम भएकोले हामीले तातो तातो नै चिया पियौँ । तर झमकले भने सेलाएर मात्र पिइन । किनकि उनी तातो पिउन नसक्ने भएको उनले हामीलाई कापीमा लेखेर बताइन् । त्यसपश्चात झमक र उनकी आमा आशादेविसँग हामीले परिचयका साथै भोगाईका तितामिठा कुराकानि गर्यौ  ।

मौनता भित्रको जीवन र जगतलाई नियालेर, दृड इच्छा शक्तिले जीवन भोगाइलाई काँडाबाट सुन्दर बास्नारुपि फूलमा परिणत गर्ने ,बहादुर आमाकी कोखबाट जन्मिएकी साहित्य जगतकी प्रतिभाशाली नेपाली महान् नारी हुन झमक घिमिरे ।

झमक, आमा आशादेवि र बुबा कृष्णबहादुर घिमिरकोे पहिलो सन्तानको रुपमा २०३७ साल असार २१ गते धनकुटाको कचिडे गाँउमा जन्मिएकी हुन् । उनी जन्मिएको छ महिना भइसक्दा पनि उनकी आमाले छोरीले हात गोडा नचालाएको चाल पाएपछि  डाक्टर कँहा पुर्याइन । त्यतिवेला पहाडको ठाँउ ,बाटोघाटोको असुविधा र चेतनाको अभावका बाबजुद पनि उनी डाक्टर सम्म पुगिन् । किनकि एउटी आमालाई आफनो सन्तान सबल होस् भन्ने सबैभन्दा ठूलो चाहाना हुन्छ । तर बिडम्बना ! सोचे जस्तो जीवन भोगाइमा भएन, झमक शारीरिक रुपमा असक्त नै भएको डाक्टरले बताएको कुरा भावुक हुँदै झमककी आमाले बताइन् ।

उनी हुर्कँदै गइन् । आवाज निकालेर बोल्न, गोडाले टेकेर हिड्न र हातले कुनै काम गर्न नसक्ने अवस्था भएका कारण उनको बाल्यकाल निक्कै कष्टकर भएर बित्यो । समाजले उनलाई छिछि र दुरदुर गरेर निक्कै हेलाको दृष्टिकोणले हेर्यो । उनकी आमालाई यस्तो सन्तान जन्मिएकोमा पीडाबोध त छँदै थियो साथै कुन जुनीको पापको सजाय पाएको हो ? भन्ने देखि लिएर गाँउका अरु बच्चा र गर्भवती महिलालाई छुन हुँदैन भन्ने खालका समाजका रुढीवादी कुराले अनावश्यक मानसिक यातना सहनु पर्यो । तर पनि आफुले दिने माया र ममतामा झमकलाई कहिल्यै कमि गरिनन् । उनकी आमाले समाजले गरेको दुरव्यवहारका कुरा बताइरहँदा झमक कापी तानेर खुट्टाका औँलाले कलम च्याप्दै “तिनीहरुले त्यति गरिदिए त आज मैले ती कुराहरु चिर्न पाए, स्याबासी दिनुपर्छ आमा तिनिहरुलाई ! आमा नै शक्ति हो र शक्ति नै आमा हो ।” भन्दै लेखिन् ।

झमक अरुले बोलेको कुरा सुन्न र बुझन भने राम्ररी सक्थिन् । अरुले झैँ आमाबुबा सँग मिठा आवाजमा बाल्यपन साट्ने , बिद्यालय जाने ,साथीभाई सँग खेल्ने र कापी कलम सँग रमाउने जस्ता चाहाना उनी भित्र पनि शारीरिक रुपमा सबल भएका व्यक्तिका रहरहरु झैँ बग्रेल्ती थिए । तर उनका चाहाना र रहरहरु उनकै मात्र बुझाईको बस्तिमा थियो । उनका विचारहरु अभिव्यक्त गर्ने कुनै माध्यम थिएन । उनीमाथि बारम्बार खन्याएको साँघुरो विचारले उनको हृदयमा ठूलो चोट पुगेको थियो । समाज र परिस्थितिले दिएको चोटले उनी भित्र भित्रै विछिप्त थिइन । त्यसैले समाजले महिला र शारीरिक रुपमा असक्त भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण बदल्न चाहान्थिन् । उनले आफनो शारीरिक अशक्तपनको अध्यारोमा ससक्त मष्तिस्कले उज्यालो दिन शिक्षा प्रतिको अथाहा भोक जगाइन् । उनी खुट्टाले आफना कामहरु आफै गर्न थालिन् । आफै प्रति आत्मा निर्भरता बढाइन् । त्यतिबेला उनले खुल्ला धर्तिमा खुट्टाका तीन औलाले छेस्का समातेर अक्षर फुटाइन्  ,रगत छरछर हुन्जेल खुट्टाका औलाले खुल्ला भुइलाई कापि कलम र इरेजर बनाइन् भने कहिले विहानीमा रातका शितहरु कचौरामा बटुलेर ढुङ्गामा अक्षर बनाइन् त्यस्तैगरी कहिले अंगारले घरका भितामा कोरेर शब्दहरु सँग रमाइन् ।  अंगारले घरका भित्ताहरुमा कोर्दा कति पटक त गालि पनि पाइन् । तर पनि अभ्यास गर्न छोडिनन्  । जहाँ इच्छा त्यहाँ उपाय भने झै प्रकृतिको काँख नै उनको पहिलो खुल्ला पुस्तक बन्यो । उनले भाईबहिनीले पढेका कुरालाई मनमनै हेक्का राख्दै  दोहोर्याइ तेहेर्याई अभ्यास गरिन । मानौ उनको मौनता नै सिंगो अभ्यासको संसार थियो । जव झमकका विचारलाई बुझे तब उनले कापी कलम समाउने अवसर पाइन् ।

त्यतिबेला सम्ममा उनले धेरै अक्षरहरु चिनिसकेकी थिइन । अनौपचारिक शिक्षालाई उनले घरमै विभिन्न व्यक्तिको माध्यमले अगाडि बडाइन् ।आफनो क्षमताको विकास हरतरहले गरिन् । यी कुराहरु उनले लेखेको पुस्तक र हाम्रा भलाकुसारी बाट अझ बढि स्प्रस्ट पायौ ।

अहिले उनी सूचना प्रविधिको रुपमा रहेको मोवाइलमार्फत  सामाजिक संन्जालमा आफना विचारहरु अभिव्यक्त गर्ने र एसएमएस मार्फत साथीभाई सँग कुराकानी गर्ने गर्छिन्  ।

हामीले उनलाई केही प्रश्नहरु सोध्यौ । जबाफमा उनि यस्तो लेख्छिन् ।

* जीवन के हो ?
-सुन्दर फूल हो ।
* खुसी के हो ?
-महसुस गर्न सकिन्छ तर यसको कुनै आकार हुँदैन ।
* सबैभन्दा नजिकमा के कुरालाई महसुस गर्नहुन्छ ?
-सबैभन्दा नजिकमा महसुस म आफनै विश्वासलाई गर्छुं ।
* समस्या के हो ?
-समस्या कहाँ छन् र ?
* सुन्दरता के हो ?
-मनको राम्रो बानि सुन्दरता हो, यो हरेक व्यक्तिमा हुन जरुरी छ ।
* साहित्य के हो ?
-कला, विचार र अभिब्यक्तिको संयोजन नै साहित्य हो ।
* तपाईका लागि काठमाण्डौँमा विशेष सुविधा भएको बस्ने भवन बन्दै छ । यसमा तपाईलाई कस्तो लागेको छ ?
-मैले यसलाई नेपाली साहित्य र स्रष्टाप्रतिको उच्च सम्मानको रुपमा लिएको छु ।
* सफलता के हो ?
-मेहनतको परिणाम हो ।

उनका उत्तरहरुले जीवन प्रतिको स्पष्ट बुझाई र सौन्दर्यता झल्काउँछ ।उनको शिष्टता,शालिता र अभिव्यक्त गर्ने शैलीप्रति हामी सबै नेपालीले गर्व गर्नै पर्छ ।

झमकले शब्दको ज्ञान सँगै खुट्टाका औलााले कलम समातेर निक्कै शारीरिक कठिनाईका बाबजुद पनि अन्नत: मनभित्रका विचारहरुलाई  व्यक्त गरेरै छाडिन् । झमकको हृृदयका भित्ताहरुमा जीवनका भोगाइले बुझाएका साहित्यिक भावनाहरु छरपस्ट थिए भन्ने कुरा उनले लेखेका थुप्रै पुस्तकहरुले बुझाउछन् । उनले लेखेको जीवन काँडा कि फूल पुस्तकले नेपाली साहित्यमा मदन पुरस्कार प्राप्त भने उनी प्रवल दक्षिण गोर्खा बाहु लगायत दर्जनौ पुरस्कारबाट सम्मानित पनि भईसकेकी छन् ।

झमकले व्यक्ति भित्र हुने आन्तरीक शक्तिलाई पहिचान गराएर, समाजले यस्ता व्यक्ति प्रति हेर्ने संकोचित दृष्टिकोणलाई फराकिलो दायरामा बदल्दै , हिजो हेला गर्ने त्यो समाजलाई नैतिक सवक सिकाएर आज उनलाई सम्मान गर्न झुकाउँदै इतिहासमा आफनो नाम लेख्न सफल भइन् । जुन सामान्य कुरा होइन । हामी सबै नेपालीले उनीबाट आत्मा सम्मान र साहसको पाठ सिक्नै पर्छ । राज्यले उनको प्रतिभा र साहासलाई उच्च सम्मान गर्दै सेवा सुविधा प्रदान गरेमा अझ धेरै साहित्यिक कृतिहरु जन्मिनेछ भन्ने कुरामा दुईमत नहोला ।

भिडियोः

तपाईको प्रतिक्रिया