जलविद्युत आयोजनामा ग्यास पड्किँदा ४ जनाको मृत्यु भएको पुष्टि

नारीकोसिस डटकम/ चैत १२, सिन्धुपाल्चोक । माथिल्लो चाकु जलविद्युत आयोजनामा ग्यास सिलिण्डर पड्किँदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।
विष्फोटमा दुई जनाको शवको केही भाग आइतबार नै फेला परेको थियो भने दुई जना हराइरहेका थिए ।
सोमबार बिहान हराइरहेकाहरुको पनि कपाल लगायत शवका केही अंगहरु फेला परेकाले चारै जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले मंगलबार दुई जनाको कपाल लगायत शवका केही अंश फेला परेकाले चारै जनाको मृत्यु भएको पुष्टि भएको बताए ।
आइतबार बेलुकी ६ बजेतिर भान्साकोठामा सिलिण्डर पड्किँदा जलविद्युत आयोजनामा कार्यरत मजदुर हुम्ला घर भएका सन्डुप लामा र दोलखा घर भएका भाइकाजी शेर्पाको मृत्यु भएको थियो। त्यस्तै हेटौडाका एचएम थापा मगर र ओखलढुङ्गाका गोपाल श्रेष्ठको पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
भोटेकोशी गाउँपालिका,फुल्पिङकट्टिमा जलविद्युत आयोजनाको बाँधस्थल नजिकै ग्यास बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी सीआरसीको मजदुर बस्ने क्याम्पमा सिलिण्डर पड्किएको हो ।
तपाईको प्रतिक्रिया