अबको तीन दिन: मौसम बदली र वर्षा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
अबको तीन दिन: मौसम बदली र वर्षा

Share

 

नारीकोसिस डटकम/चैत १५, काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको हो ।

आज रातिबाट देशको पश्चिमी भेगबाट प्रवेश गर्ने पश्चिमी न्यूनचाँपीय प्रणालीले बदली र वर्षा गराउनेछ । उक्त प्रणालीले खासगरी शनिबार र आइतबार बढी असर गर्ने देखिएको छ । ठूलो खालको प्रणाली विकसित नभए पनि बदली र मेघ गर्जनसहित क्षणिक वर्षा गराउनेछ ।

आज दिउँसो पूर्वी भेग लगायत मध्य र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने पूर्व, मध्य र पश्चिमी पहाडी भेगका एक दुई स्थानमा मध्याह्नपछि वा साँझतिर मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ । मध्य र पूर्वी हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

तपाईको प्रतिक्रिया