जनकपुरधाम प्रदेश २ मा एसईईको सबै प्रश्नपत्र एकसाथ बाहिरिएको आशंका

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
जनकपुरधाम प्रदेश २ मा एसईईको सबै प्रश्नपत्र एकसाथ बाहिरिएको आशंका

Share

नारीकोसिस डटकम/चैत १५, जनकपुरधाम । प्रश्नपत्र आउट भएपछि लगातार दोस्रो दिन प्रदेश २ मा एसईईको परिक्षा स्थगित भयो ।

विज्ञान विषयको प्रश्नपत्र आउट हुँदा बिहीबारको परीक्षा रद्द भएको थियो भने शुक्रबार सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरियो ।

विज्ञानको प्रश्नपत्र सप्तरीबाट बाहिरिएको थियो । जिल्ला परीक्षा समन्वय समितिको आकस्मिक बैठकले परीक्षा रद्द गर्न परीक्षा नियन्त्रण कार्यालयमा सिफारिस गर्‍यो । लगतै प्रदेशका आठवटै जिल्लामा २२ गते हुने गरी परीक्षा स्थगित गरियो ।

विज्ञान विषयको प्रश्नपत्र एक दिन अगाडि बाहिरिएको र प्रश्नहरुको उत्तर तयार गरी वितरण गरिएको दृष्टान्त सप्तरीमा देखियो । लिक भएको प्रश्नपत्रको उत्तर सामाजिक सञ्जाल मार्फत विद्यार्थीलाई शेयर गरिएको पाइएको छ ।

बिभिन्न जिल्लाबाट परीक्षा हलमै विद्यार्थीले मोवाइलबाट चिट चोरिरहेको अवस्थामा पक्राउ पर्नुले यसको पुष्टि हुन्छ । परीक्षा शुरु भएकै दिनदेखि विद्यार्थीहरुले मोबाइलबाट चिट चोर्नुले शुरुमै प्रश्नपत्र आउट भएको अनुमान गर्न सकिन्छ ।

अधिकारीहरुले एकसाथ सबै विषयको प्रश्नपत्र आउट भइसकेको पनि आशंका गरेको छ । अन्यथा विज्ञान विषयको प्रश्न सार्वजनिक भएर परीक्षा नै रद्द भएपछि पनि सामाजिक विषयको प्रश्न बाहिरिन कसरी सम्भव भयो भन्ने प्रश्न गर्छन् ।

प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर प्रदेश सरकारले संघीय सरकारमाथि प्रश्न उठाएका छन् । मुख्यमन्त्री लालबाबु राउत र प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले दोषी जोसुकै भएपनि कारबाही गरिने बताएका छन् ।

प्रदेश सरकारले गठन गरेको छानबिन समितिका सदस्य समेत रहेका प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले समितिका अन्य पदाधिकारीहरु आजै जनकपुर आइरहेको र आजै बैठक बसेर छानबिन गरिने जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया