एसईई पुनपरीक्षा: त्यसका लागि नयाँ प्रश्नपत्र छपाई, भत्ता र प्रशासनिक खर्च दोहोरिने

नारीकोसिस डटकम/चैत १७, काठमाडौं । प्रदेश २ मा स्थगित भएको एसईई परीक्षा यही चैत महिनाभित्रै सञ्चालन गर्ने तयारी गरिएको छ । त्यसका लागि नयाँ प्रश्नपत्र छपाई, भत्ता र प्रशासनिक खर्च दोहोरिने भएकाले सरकारलाई करोडौंको आर्थिक भार थपिने भएको छ ।
विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा लगातार दुई दिन आउट भएपछि केन्द्र सरकारले प्रदेश २ को परीक्षा रद्द गरेको थियो । प्रश्नपत्र आउट प्रकरणको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले छानविनसमेत गरिरहेको छ ।
बोर्डका अनुसार केन्द्राध्यक्षले जनही दैनिक ८ सय, सहायक केन्द्राध्यक्षले ५ सय, निरीक्षकले ३५०, परीक्षा सहायकले ३ सय र कार्यालय सहयोगीले १५० रूपैयाँका दरले भत्ता पाउँछन् । यसैगरी हरेक परीक्षा केन्द्रमा खटिएका सुरक्षाकर्मीलाई दैनिक १५० रूपैयाँको दरले भत्ता दिइन्छ ।
कापी पुरानै काम लागे पनि परीक्षा रद्द भएकाले प्रश्नपत्र खेर गएका छन् । त्यसैले अब नयाँ प्रश्नपत्र बनाउनु पर्ने भएको छ । बिभिन्न विषय विज्ञहरुबाट प्रश्नहरु संकलन गरेर अन्तिम प्रश्नपत्र तयार पारिन्छ । प्रश्नपत्रको खेस्रा तयार पार्ने विषय विज्ञहरुलाई पनि सरकारले भत्ता उपलब्ध गराउँछ । बिभिन्न विज्ञहरुले तयार पारेको नमूना प्रश्नपत्रबाट प्रश्नहरु संकलन गरेर बोर्डले अन्तिम प्रश्नपत्र तयार पारेर छाप्छ ।
त्यसैले नयाँ प्रश्नपत्र निर्माण, प्रश्नपत्र छपाइै र छापाखानामा छपाइको प्रवन्धमा पनि थप खर्च हुने भएको छ ।
तपाईको प्रतिक्रिया