नेपालमा झण्डै ३ लाख अटिजम बालबालिका

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
नेपालमा झण्डै ३ लाख अटिजम बालबालिका

नारी कोसिस डटकम/चैत १९, काठमाडौँ । आज विश्व अटिजम सचेतना दिवस ।  नेपालमा पनि विविध कार्यक्रम गरी विश्व अटिजम दिवस मनाईएको छ । अप्रिल २ लाई विश्वभर अटिजम सचेतना दिवसको रुपमा मनाइदै आएको छ ।

“अटिजमको बारेमा बुझौ ,अरुलाई पनि बुझाउ र सचेतना बढाऔ भन्ने मूल नाराका साथ विशेष स्कुल तथा पुर्नस्थापना केन्द्रले पनि विश्व अटिजम सचेतना दिवस तथा अभिभावाक दिवस मनाएको छ ।

अटिजम भनेको बालबालिकामा देखा पर्ने रोग नभएर एउटा विशेष अवस्था हो भन्ने कुरा आम नागरिकलाई थाहा गराउने, विश्व अटिजम सचेतना दिवसको मुख्य उद्देश्य हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको कुल जनसंख्या मध्ये एक प्रतिशतमा अटिजम हुने गर्छ । त्यही आधारमा हेर्दा नेपालमा तीन लाखको हाराहारीमा अटिजम भएका व्यक्तिहरु रहेको अनुमान रहेको पुर्नस्थापना केन्द्रकी अध्यक्ष सविता उप्रेतीले बताइन् ।

उक्त अवसरमा अटिजम भएका बालबालिकाले सन्देशमूलक नृत्य, गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाको भवन निर्माणमा सघाउन संस्थाकी अध्यक्ष तथा कार्यकारी प्रमुख सविता उप्रेतीले अनुरोध गरिन् ।

संस्थाले नौ वर्षदेखि अटिजम भएका बालबालिकाको हेरचाह, शिक्षा, थेरापी सेवा, सीपमूलक तालिम दिनेलगायत काम गर्दै आएको छ । संस्थामा हाल अटिजम भएका ४५ बालबालिकाले शिक्षा लिइरहेका छन् । कार्यक्रममा अटिजम सचेतनामा उल्लेखनीय योगदान पुर्‍याएका सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । अटिजम भएका बालबालिकालाई पनि मेडल र पुरस्कार वितरण गरिएको थियो ।

मंगलबार आफ्नै विद्यालयको प्राङ्गनमा भएको विशेष कार्यक्रममा नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल प्रमुख अतिथि थिए । सो अवसरमा नेपाली सेनाका महासेनानी मनोज बैदवार ,वरिष्ठ पत्रकार सुमन खरेल, गायक प्रमोद खरेल लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया