गैंडा गणना: अर्को वर्ष मात्र गरिने

नारीकोसिस डटकम/चैत २९, काठमाडौं । बजेट अभावमा यस वर्ष गैंडा गणना नहुने भएको छ । गैंडा गणना अप्रिल र मे महिनाको बीचमा गर्नुपर्ने हुन्छ । तर यसपटक बजेट पनि नभएको र पानी परिरहेकाले घाँस पनि बढी उम्रिएकाले गणना हुन नसकेको हो ।
गैंडा संरक्षण कार्ययोजनामा ४ देखि ५ वर्षमा गणना गर्ने भनिएको छ, तर यस पटक नहुने भयो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक खड्काले भने ।
यस वर्ष गैंडा गणना गर्न १ करोड १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो । दाताहरुले ६० प्रतिशत रकम दिने आश्वासन दिएका थिए र ४० प्रतिशत सरकारले व्यहोर्ने भनिएको थियो । डब्लुडब्लु एफ, प्रकृति संरक्षण कोष, जुलोजिकल सोसाइटी अफ लण्डन दाताहरु हुन् ।
तर, सरकारले यस वर्ष गैंडा गणनाका लागि बजेट नछुट्याएकाले बजेट अभाव भएको हो । त्यसैले अर्को वर्ष गैंडा गणना गर्ने र नेपाल सरकारले नै शतप्रतिशत बजेट छुट्याउने प्रस्ताव मन्त्रालयमा पेश गरिएको महानिर्देशक खड्का बताउँछन् ।
गैंडा गणना गर्न हात्तीको प्रयोग गरिन्छ । गर्मी बढेपछि हात्ती थाक्ने भएकाले अप्रिल–मे महिनाभित्रै गैंडा गणना गर्नु उपयुक्त मानिन्छ । नेपालमा पछिल्लो पटक सन् २०१५ मा गैंडा गणना गरिएको थियो । त्यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै ६४५ वटा गैंडा फेला परेका थिए । चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया, शुक्ला फाँटा र पर्सामा गैंडाको बासस्थान छ ।
तपाईको प्रतिक्रिया