सुन भनेर फलामको टुक्रा दिई ठगी गर्ने ४ जना पक्राउ
नारीकोसिस डटकम/वैशाख ३, काठमाडौं । प्रहरीले सुन भनेर फलामको टुक्रा बिक्री गर्ने चार जनालाई पक्राउ गरेको छ ।
मंगलबार काठमाडौंको सुन्धाराबाट नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ का ३३ वर्षका पूर्णबहादुर तामाङ, काभ्रेको चौंरी देउराली गाउँपालिका ३ का २६ वर्षका चन्द्रबहादुर श्रेष्ठ, वर्ष २१ का प्रवीन श्रेष्ठ र १९ वर्षका सुवास श्रेष्ठलाई पक्राउ गरेको हो ।
उनीहरुले सामाखुशी रानीबारीका राजेश विकलाई सस्तो सुन भनेर सुनको गहना राख्ने प्याकेटमा पहेँलो कपडाले बेरिएको वस्तु बिक्री गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । त्यसबापत उनीहरुले १९ लाख रुपैयाँ लिएका थिए । राजेशले घर पुगेर हेर्दा सुन नभई ४ वटा फलामको टुक्रा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनीहरुको साथबाट ७० हजार नगद बरामद भएको र लुटिएको रकम विभिन्न व्यक्तिहरुलाई दिएकोमा पहिचान गरी फिर्ता ल्याउने कार्य भइरहेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया