बँदेललाई थापेको विद्युतीय धरापमा परेर एक युवकको मृत्यु, शव गाड्ने ५ जना पक्राउ

नारीकोसिस डटकम/वैशाख ११, बुटवल । बँदेल मार्न एकसाथ गएका साथीको विद्युतीय धरापमा परेर ज्यान गएपछि घटना लुकाउन शब गाड्न खोज्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तिलोत्तमा नगरपालिका ११ भूपू सैनिकटोलका २६ वर्षका उपेन्द्र शाह, ३५ वर्षका नरबहादुर पुन, ३५ वर्षकै चन्द्रबहादुर थापा, २८ वर्षका कृष्ण राना र ४० वर्षका अमर पुन रहेका छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
तिलोत्तमा नगरपालिका ११ भुपु सैनिक टोलका ४० वर्षका मीनबहादुर गौतम १० दिनदेखि वेपत्ता भएकामा बुधबार बिहान प्रहरीले गौतमको मृत्यु बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर भएको रहस्य पत्ता लगाएको थियो ।
विद्युतीय धरापमा परी गौतमको वैशाख १ गते राति २ बजेतिर मृत्यु भएपछि संगै गएका साथीहरुले घटनालाई लुकाउन अर्को दिन देवदह ९ मा पर्ने जंगलमा खाडल खनेर पुरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुसंगको सोधपुछ पछि बुधवार विहान मृतकको शव उत्खनन् गरिएको र उनीहरुमाथि थप अनुसन्धान शुरु गरिएको डीएसपी मल्लले बताए । गौतमको मृत्यु कसरी भयो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको मल्लले बताए ।
तपाईको प्रतिक्रिया