नर्सको आन्दोलनले गर्दा मानव अंग प्रत्यारोपण केन्द्रको सेवा प्रभावित

नारीकोसिस डटकम/वैशाख १३, भक्तपुर । नर्सिङ संघ एकाई भक्तपुर र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्धारा विभिन्न छ बुँदे माग राखी आन्दोलनमा उत्रिएपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा प्रभावित भएको छ ।
सम्पूर्ण कर्मचारीको तलब समयमै दिनुपर्ने, विभिन्न तालिम, गोष्ठीमा पुराना कर्मचारीलाई पनि समावेश गर्नुपर्ने, ठेकेदार प्रथा हटाई सम्पूर्ण कर्मचारीलाई अस्पताल प्रशासनले तलब दिनुपर्ने, पुराना कर्मचमारीको कामको मूल्याङ्कन र अनुभवका आधारमा ग्रेडिङ दिनुपर्ने, कर्मचारीलाई स्थायी गर्नुपर्ने, तलबमा पाइने सबै सेवासुविधा उपल्बध गराउनुपर्ने जस्ता छ बुँदे माग राखी केही दिनयता कालोपट्टी बाँधेर काम गर्दै आएका नर्स बुधबार साँझदेखि सेवा बहिष्कार गरी धर्नामा बसेपछि केन्द्रको सेवा प्रभावित भएको हो ।
केन्द्रका नर्सले आकष्मिक र आइसीयूबाहेकको सेवा ठप्प गरेका छन् ।
आन्दोलनका कारण बिरामीले पाउने सेवा प्रभावित भइरहेको छ । हाल अस्पतालमा दैनिक १०० भन्दा बढीको मिर्गौला डायलासिस तथा हप्ताको सात मिर्गौला प्रत्यारोपण हुँदै आएको छ ।
निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आफ्ना कर्मचारीको सुविधाका लागि अस्पतालले गर्नसक्ने सबै सहयोग गरिरहेको बखतमा बिरामीको उपचार नै प्रभावित हुने गरी आन्दोलन गर्नु दुःखद रहेको बताए ।
तपाईको प्रतिक्रिया