गुल्मीको झाडापखाला अझै नियन्त्रणमा आएन

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
गुल्मीको झाडापखाला अझै नियन्त्रणमा आएन

Share

नारीकोसिस डटकम/वैशाख १३, गुल्मी । तम्घास गुल्मीको मुसिकोट नगरपालिका– ४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझैं नियन्त्रणमा आउन सकेको छैन ।

उक्त गाउँमा पाँच किलोमिटर टाढाको टङ्कीमार्फत ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी अचानक दूषित बनेका कारण गत आइतबारदेखि त्यहाँका स्थानीयमा झाडापखालाको लक्षण देखिएको थियो ।

स्थानीयवासीले उक्त पानी पिउँदै जान थालेपछि झाडापखालाले बिहीबार बेलुकीसम्म ९८ जना बिरामी परेकामा आज बिहानसम्म उक्त सङ्ख्या बढेर एक सय नाघेको स्थानीय जनप्रतिनिधि हरि छन्त्यालले जानकारी दिएका छन् ।

उक्त मुहानको पानी उमालेर खाँदा पनि मानिसमा बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने जस्ता समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिएका छन् ।

स्थानीयवासीले पानी उमालेर खाँदा पनि समस्या समाधान नभएपछि उक्त गाउँमा आजदेखि ट्याङ्करमा पानी बोकेर खानेपानी वितरण गर्न थालिएको छ ।

प्रकोप क्षेत्रमा दूषित पानी पिएका कारण स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयका केही विद्यार्थीसमेत बिरामी परेका छन् । विद्यार्थी बिरामी परेपछि उक्त विद्यालय समेत बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया