खोटाङमा शिक्षकविहिन तीन विद्यालय

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
खोटाङमा शिक्षकविहिन तीन विद्यालय

Share

नारीकोसिस डटकम/वैशाख १६, खोटाङ । शिक्षक नभएका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तीन विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।

शिक्षक नहुँदा हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा रहेको जालन्धर प्रावि, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा रहेको बालकन्य प्रावि र डिकुवाकै बरगाछी प्रावि बलुइ चैतदेखि शिक्षकविहीन बनेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।

एक मात्र दरबन्दीमा कार्यरत शिक्षकले चैत ३ गतेदेखि अवकाश पाएपछि जालन्धर प्रावि र बालकन्य प्रावि शिक्षकविहीन बनेको हो ।

यस्तै, कार्यरत शिक्षक सेवा आयोगमार्फत स्थायीमा नाम निकालेर दाम्ली मावि डिकुवामा सरुवा लिएपछि बरगाछी प्रावि शिक्षकविहीन बनेको श्रोत व्यक्ति नयनकुमार राईले बताउनुभयो ।

शिक्षकविहीन हुँदा तीनवटै विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । शिक्षक नहुँदा विद्यार्थी भर्ना अभियान र पाठ्यापुस्तक वितरणका काम प्रभावित भएको छ ।

जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयले स्थायी शिक्षक पठाए पनि रिक्त दरबन्दीमा शिक्षक नपठाउँदा समस्या उत्पन्न भएको मेयर राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया