आँखा फरफराउँनुका कारणहरु

नारीकोसिस डटकम/वैशाख २४, काठमाडौं । आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ । समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ। महिलाको भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने गरिन्छ।
तर, यो वैज्ञानिक कारणसँग जोडिएको कुरा हो। यसमा आँखाको परेला फरफराउँछ। यो फरफराई केही समयसम्म जारी रहेको पाइन्छ । आँखा फरफराउँनुका कारणहरु निम्न छन् :
१.तनावका कारण :
जब हामी कुनै तनावमा हुन्छौं, हाम्रो शरीरले विभिन्न तरिकाले प्रतिक्रिया जनाउँछ। आँखा फरफराउनु पनि तनावको एउटा भाग हुन सक्छ। तनावलाई कम गर्नु नै आँखा फरफराउन रोक्ने उपाय हो।
२.क्याफिन र अल्कोहलको प्रयोग :
विज्ञहरुका अनुसार क्याफिनको प्रयोग, अल्कोहल, चिया, कफी बढी मात्रामा सेवन गरेमा आँखा फरफराउने समस्या देखिन्छ।
३.एलर्जी :
आँखाको एलर्जी हुने, रातो हुने, सुन्निने या आँसु बढी आउने मानिसको आँखा फरफराउँछ।
४.आँखा दुखाई :
खासगरी, आँखालाई बढी तनाव हुने गरी काम गर्दा आँखा फरफराउँछ ।
५.पोषकतत्वको असन्तुलन :
म्याग्नेसियमजस्ता केही पोषक तत्वको कमी हुँदा पनि परेला फरफराउँछ। तर यो कुरा वैज्ञानिक रुपमा भने पुष्टि हुन सकेको छैन।
६.सुख्खा आँखा :
बुढ्यौली लाग्दै जाँदा अधिकांश मानिसले आँखा सुख्खा हुने समस्या भोग्छन् । कम्प्युटरको बढी प्रयोग गर्ने, एन्टिहिस्टामिन या एन्टिडिप्रेसान्टका औषधि बढी प्रयोग गर्ने र कन्ट्याक्ट लेन्स प्रयोग गर्नेहरुमा सुख्खा आँखाको समस्या हुन्छ । यस्ता व्यक्तिका आँखा बढी फरफराउँछ।
७.थकान :
तनाव तथा अन्य कारणबाट उत्पन्न अनिद्राले आँखाको परेलामा ऐंठन पर्छ।
तपाईको प्रतिक्रिया