श्रीमती दिक्क भैसकेकी छिन् कि ?

वैवाहिक सम्बन्धलाई सम्झौताको सम्बन्ध मानिन्छ । यो सम्बन्धमा दुई पक्षबीचको समझदारी मात्र पर्याप्त हुँदैन, यसले एकअर्काबीचको प्रेम, अपनत्व एवं विशेष किसिमको भावनात्मक सूत्रको अपेक्षा गर्छ । कतिपय अवस्थामा सबै कुरा हुँदाहुँदै पनि केही त्यस्ता कुराहरूको कारण सम्बन्धमा समस्या सिर्जना हुनसक्छ, सम्बन्ध जसोतसो चलाइए पनि त्यो जीवन्त हुँदैन ।
कतै श्रीमती आफूसँग दिक्क भैसकेकी पो छिन् कि ? पहिलेजस्तो आफूप्रति आकर्षित छैनन् कि ? कसरी थाहा पाउने ? केही उपाय छन्ः
स्वाभाविक प्रेमको अभाव हुनु
के तपाईंलाई याद छ, श्रीमतीको प्रेमिल हेराइ ? के उनको आँखा अहिले पनि उसैगरी चम्कन्छ जसरी कुनै बेला तपाईंले चुटकिला सुनाएपछि हाँसोसँगै चम्कन्थ्यो । बिहान दुवैजना सँगै उठ्दा उनको ओठमा पहिलेझैं मुस्कान फक्रन्छ ? तपाईको जवाफ हो वा छ आउँछ भने एक पटक मज्जाले नाच्नुस् किनभने तपाईंहरूको दाम्पत्य जीवन सफल छ, वैवाहिक सम्बन्ध सुरक्षित छ । तर, तपाईंको जवाफ होइन वा छैन मा आयो भने ख्याल गर्नुहोस् । सुन्दाखेरी आश्चर्य त लाग्ला तर चकित नहुनुहोस् किनभने अब तपाईको श्रीमतीले पहिलेजस्तो प्रेम गर्नुहुन्न ।
घर तथा बालबच्चाका विषयमा मात्र सीमित हुनु
यी संकेत ससाना हुन्छन् र सामान्यतः यिनीहरूप्रति त्यति ध्यान दिइँदैन । जसै समय चिप्लँदै जान्छ, घर तथा अफिसको काममा डुब्न थालिन्छ र श्रीमान्-श्रीमतीबीच एकअर्काका लागि समय दिन असमर्थ भइन्छ । घरव्यवहार तथा बालबच्चाका कुराका अतिरिक्त अन्य समस्याका विषयमा छलफल हुन्छ तर दम्पतीका निजी जीवनसँग सरोकार रहेका विषयले कुराकानीमा समेत प्रवेश पाउन मुस्किल पर्छ । फलतः प्रेम विषयक चर्चा नहुँदानहुँदै आपसी सम्बन्ध निष्प्राण बन्न पुग्छ ।
पहिलेजस्तो प्रेम व्यक्त गर्दाको अवस्थामा हुने जोस, घबराहट एवं आत्मीय झनझनाहट सेलाउनपुग्छ अनि सम्बन्ध बोझ बन्न थाल्छ । यसरी श्रीमतीले प्रेम गर्न छोडिन् र वैवाहिक जीवनबाट सन्तुष्ट भइनन् भने सम्बन्धमा धोका हुने सम्भावना वृद्धि हुन्छ । अतः समय छँदै चनाखो भएर यस्तो स्थिति पैदा हुने अवस्था आउन नदिनु नै बुद्धिमानी हुन्छ । तपाईले एक पटक आफ्नो समस्या पहिचान गर्नुभयो भने त्यसलाई सुधार्ने प्रयास गर्न सक्नुहुन्छ र आफ्नो दाम्पत्य जीवनलाई पहिलेकै जस्तो सुमधुर बनाउन सक्नुहुन्छ ।
कुराकानी नगर्नु
आपसी सञ्चार कुनै पनि सम्बन्धका लागि अपरिहार्य मानिन्छ । स्वस्थ सम्बन्धमा बाँधिएका जोडीहरू आफ्नो जीवनका हरेक कुरा एकअर्कासँग व्यक्त गर्छन् । उनीहरूको कुराकानीका क्रममा एकअर्काको साथमा कस्तो महसुस गर्छन्, एकअर्कासँग कति प्रेम गर्छन् भन्ने कुरा प्रकट हुन्छ । यसबाट भावनात्मक एवं शारीरिक सम्बन्धको डोरी कसिलो हुन थाल्छ ।
तर, श्रीमान्-श्रीमतीका बीच बालबच्चा तथा घरखर्चको कुरा मात्रै हुन थाल्यो भने बुझ्नुहोस्- अब सम्बन्ध दिगो हुन सक्दैन, जीवनसाथी तपाई प्रति आकर्षिर्त छैनन् । यस्तो स्थितिमा तुरुन्तै सम्हालिएर सम्बन्धलाई लाइनमा ल्याउनु आवश्यक छ । त्यसका लागि तपाईं उनलाई कति प्रेम गर्नुहुन्छ त्यो बताउनुपर्छ । यति गरे बिग्रन आँटिसकेको सम्बन्ध निश्चय नै ठीक बाटोमा आउनेछ ।
सदैव आफैंमा व्यस्त रहनु
जीवनसाथी प्रायः आफैंमा डुबिरहन्छिन् भने सचेत हुनपर्छ । जीवनसाथीको अर्थ नै एकअर्काको ख्याल राख्नु हो । तर उनी केवल आफ्नै हितका विषयमा सोचमग्न हुन्छिन् भने बुझ्नुपर्छ कि अब उनका लागि यो सम्बन्धमा प्रेमका निम्ति कुनै स्थान छैन ।
उनी समय-समयमा तपाईंलाई अपमानित गर्छिन् भने होच्याउन पाइने कुनै पनि क्षण गुमाउँदिनन् । जब कि प्रेमपूर्ण सम्बन्धको पहिलो शर्त नै आपसी सम्मान हो । यसरी सम्मानका स्थानमा अपमान प्राप्त हुन थाल्यो भने बुझ्नुहोस्- तपाईंको दाम्पत्य जीवन धरापमा छ, तपाईहरूको सम्बन्धमा सर्वथा प्रेमको अभाव छ, जुन तपाईंका लागि खतराको घन्टी हो ।
तपाईंलाई बदल्नु
विवाहपछि सबैमा परिवर्तन आउँछ, सामान्यतः यस्तो परिवर्तन सकारात्मक नै हुने गर्छन् । हरेक राम्रा पार्टनरले दाम्पत्य सम्बन्धका लागि योगदान दिन्छन् र आफ्नो साथीअनुसार आफूलाई बदल्ने प्रयास गर्छन् जुन आपसी सम्बन्धमा प्रेम छ भने मात्रै सम्भव हुन्छ ।
आपसी प्रेम रहेन भने सम्बन्धमा विष घोलिन पुग्छ । तपाईले आफूमा खराब बानी देख्न, हानिकारक परिवर्तन भएको पाउन तथा पथभ्रटताको लक्षण भेट्टाउन थाल्नुभयो भने बुझ्नुपर्छ- यो श्रीमतीले आफूलाई गरेको उपेक्षा एवं आफूप्रति उनको उदासीन व्यवहारका कारण भएको हो ।
तपाईको प्रतिक्रिया