गर्मीले जनजीवन प्रभावित

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
गर्मीले जनजीवन प्रभावित

Share

नारीकोसिस डटकम/असार १, रौतहट । टन्टलापुर घामसँगै तातो हावा चल्न थालेपछि तराईको जनजीवन कष्टपूर्ण बनेको छ । रौतहटको सदरमुकाम गौरको तापक्रम ४३ डिग्रीसम्म पुगेपछि जनजीवन नै अस्तव्यस्त भएको छ ।

बिहान सबेरैदेखि सुरु हुने गर्मीले खासगरी ज्यालामजदुरी र खेतीकिसानी गर्नेहरू अत्यधिक मारमा परेका छन् । गर्मीका कारण ‘लु’ लाग्ने र बाटामा मानिस बेहोश हुनेजस्ता समस्यासमेत देखिएको छ ।

गर्मीका कारण जिल्ला प्रशासन, मालपोत तथा अन्य सरकारी कार्यालयमा सेवाग्राहीको संख्या घटेको छ । अति आवश्यक कामबाहेकको समयमा मानिसहरू घरबाहिर निस्कन छाडेका छन् ।

जिल्लामा जेठको अन्तिम सातादेखि गर्मी बढेको हो । गर्मीबाट बच्ने उपायतर्फ स्थानीय सचेत नभएकाले ‘हिट स्ट्रक’ हुने सम्भावना बढी देखिने गरेको जिल्ला अस्पताल गौरको आकस्मिक कक्षका इन्चार्ज रवीन्द्र झाले बताए । गर्मीका कारण डायरिया तथा ज्वरोका बिरामी बढेको जिल्ला अस्पताल गौरले जनाएको छ । झाका अनुसार दैनिक ५० देखि ६० जना नयाँ बिरामी अस्पताल आउने गरेका छन् ।

गर्मीका कारण गौर नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सबै विद्यालयलाई असार ६ गतेसम्म बिहान ६:३० देखि १०:३० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ । यसैगरी मानिसको चहलपहल कम भएपछि व्यापार व्यवसायमा समेत कमी आएको उद्योग वाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताए । गौर, गरुडा, कटहरिया र चन्दपुरलगायत जिल्लाका मुख्य बजारमा आर्थिक चहलपहल कम भएको अध्यक्ष जयसवालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया