काठमाडौंको फोहोर उठाउन थालियो

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
काठमाडौंको फोहोर उठाउन थालियो

Share

नारीकोसिस डटकम/असार १६, काठमाडौं । काठमाडौं उपत्यकाको फोहार आजबाट उठाउन थालिएको छ । सिसडोलका बासिन्दा र काठमाडौं महानगरपालिकाका अधिकारीबीच तीन बुँदे सहमति भएपछि सोमबार बिहानबाट फोहोर उठाउन शुरु भएको हो ।

नुवाकोटको ककनी गाउँपालिका २ स्थित सिसडोलका बासिन्दाले आन्दोलन प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्र पनि अधिग्रहण गर्नुपर्नेलगायतका माग राख्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौंको फोहर उठ्न सकेको थिएन ।

पाँच दिनदेखि सडक किनारमा थुप्रिएको फोहरले महानगर प्रदूषित बनेको थियो ।

स्थानीयको माग पूरा गर्नका लागि १३ सदस्यीय समिति गठन गर्ने सहमति भएपछि प्रभावित क्षेत्रका बासिन्दा फोहोर बिसर्जनमा अवरोध नगर्न राजी भएका थिए । महानगर र आन्दोलनरत पक्ष दुवैको प्रतिनिधित्व हुने समितिले सिफारिस गरेअनुसार महानगरले माग पूरा गर्ने सहमति भएको छ ।

तपाईको प्रतिक्रिया