कुर्सीमा धेरैबेर बसिरहनु कति जोखिमपूर्ण ?

दिनहुँ घण्टौंसम्म कुर्सीमा बसिरहँदा शारीरिक समस्या निम्तिने गर्छ। एउटै मुद्रामा निरन्तरको कुर्सीबसाइले अन्य समस्यासँगै ढाड र पुच्छरहाडमा पीडा निम्त्याउने गर्दछ ।
कुर्सीमा गलत तरिकाले बस्दा पिठिउँ, कम्मर, तिघ्रा, खुट्टा लगायतमा दुख्ने मात्र नभई अन्य जटिल शारीरिक समस्यासमेत उत्पन्न हुन्छन्। धरै अध्ययन अनुसार, कुर्सीमा टाँसिइरहनाले विभिन्न नसर्ने रोग उत्पन्न हुनुका साथै हाम्रो आयुलाई समेत प्रभावित पारिरहेको हुन्छ ।
एक अध्ययन अनुसार, २० मिनेटभन्दा बढी कुर्सीमा बसिरहँदा शरीरमा नकारात्मक असर पर्ने गर्छ। यस्तो अभ्यासले मांशपेसी र अस्थिपञ्जर प्रणाली मस्कुलोस्केलेटल सम्बन्धी समस्या ढाड, घाँटीको समस्या बढाउँछ ।
बसाइको मुद्राले स्वास्थ्यलाई प्रभावित गर्छ। लामो समयसम्म बसिरहने व्यक्तिलाई मुटुसम्बन्धी रोग हुने सम्भावना उभिने व्यक्तिका तुलनामा दोब्बर हुन्छ।
बसिरहँदा रगतमा भएको इन्सुलिनको स्तर २४ प्रतिशतले तल झर्छ। यसले गर्दा मधुमेहको जोखिम बढ्छ। बसिरहने गर्नाले राम्रो कोलेस्ट्रोलको स्तर २० प्रतिशत र बोसो कम गर्ने इन्जाइम ९० प्रतिशतका दरले घट्दै जान्छ।
कार्यालयमा निरन्तर एउटा मुद्रामा कुर्सीमा बसिरहँदा हाम्रो शारीरिक ऊर्जा खर्च हुन्न शरीरमा गति नआउँदा रक्तप्रवाह राम्ररी हुन पाउँदैन र मांशपेसीले लयमा काम गर्न पाउँदैनन्।
एउटा अनुसन्धानअनुसार, निरन्तर ६ घण्टा वा योभन्दा बढी समयसम्म बसेर काम गर्नेहरूलाई हृदयाघात, क्यान्सर, मधुमेह लगायतका हाड, जोर्नी, मांसपेशीसम्बन्धी रोग हुने जोखिममा अत्यधिक बढ्छ।
कुनै व्यक्ति दिनहुँ एक घन्टा हिँड्छ भने उसको आयु १० वर्ष बढ्ने एक अनुसन्धानले देखाएको छ । हामी धेरैबेर बसिरहँदा, निष्क्रिय रहँदा बुढयौली प्रक्रिया एजिङ पनि छिटो सुरु हुन्छ।
कुर्सीमा बसेरै काम गर्नुपरे पनि हरेक आधा घण्टामा एक– पटक टेबलको वरिपरि भए पनि दुई तीन मिनेट हिँड्नुपर्छ। फाइल निकाल्नु, आफैंले पानी लिएर खानुलगायतका गतिशीलता भएका स–साना कामहरू गर्नुपर्छ।
कुर्सीमा धरैबेर काम गरेर बस्ने परेमा पिठिउँलाई राम्ररी सहारा दिनुपर्छ, तिघ्रा आरामसाथ रहनुपर्छ। सकेसम्म पिठिउँलाई सिधा राख्ने कुर्सी हुनुपर्छ। तपाईको पुच्छ्रेहाड दुख्दैन भने कडा सतहमा बस्दा शरीरको मुद्रा बिग्रँदैन। बस्दा कुप्रो पनि पर्नुभएन।
कुर्सीबसाइका कारण हुन सक्ने नकारात्मक समस्या हटाउन नियमित रूपमा हिँडडुल गर्नुपर्छ। बढीमा हरेक आधा घण्टापछि कुर्सीबाट उठेर यताउता हिँड्नुपर्छ।
कुर्सीमा खुट्टा चढाएर नबसौं हामीमध्ये धेरैजसो व्यक्ति कुर्सीमा पनि पलेटी मारेर बस्ने गरेका छौं। यसो गर्दा हामी आफूलाई सहज अनुभव गर्छौं तर यसरी बस्दा शरीर प्राकृतिक आकारमा रहन पाउँदैन। स्वास्थ्यका दृष्टिले यस्तो बसाइ निकै नराम्रो मानिन्छ।
विज्ञहरूका अनुसार, कुर्सीमा पलेँटी मारेर बस्दा ढाड र पेल्भिक बोनमा दुखाइको समस्या हुने जोखिम बढ्छ। यस्तो बसाइमा खुट्टाका नसा थिचिन्छन्, जसले गर्दा रक्तप्रवाह प्रभावित हुने गर्छ।
लामो समयसम्म पलेँटी मारेर बस्दा खुट्टामा भएका ‘स्पाइडर भेन्स’ मा नकारात्मक असर पर्छ। यति मात्र नभई, यस्तो बसाइका कारण हाम्रो स्नायुमा समेत दबाब पर्छ ।
तपाईको प्रतिक्रिया