पहिरोले सडक भाँसिदा जुम्लामा यातायात ठप्प

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
पहिरोले सडक भाँसिदा जुम्लामा यातायात ठप्प

Share

नारीकोसिस डटकम/साउन १२, जुम्ला । कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ। कालीकोट खण्डको कालेखोलानजिकै बिहान पहिरो गएको हो।

कालीकोट प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले सडकनै भासिएकाले छिटो खुलाउन नसकिने बताए। उनका अनुसार ४० मिटर सडकमा पहिरो गएको छ। ‘यसअघि सानातिना दर्जन बढी पहिरो जाँदा समयमै खुलाउन सकिएको थियो ।

अहिले पहिरोको प्रकृति बुझ्न सडक डिभिजन कार्यालयबाट इन्जिनियरसहितको टोली त्यसतर्फ गएको छ। कालीकोट प्रमुख जिल्ला अधिकारी कार्कीसहितको टोली पनि पहिरो गएको स्थानतर्फ लागेको छ।

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको कालेखोलामा माथिबाट झरेको चट्टानसहितको पहिरोको कारण करिब ४० मिटर सड़क भासिएकाले सड़क पूर्णरूपमा अवरुद्ध भएको जुम्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। एक सूचना जारी गरेर जुम्ला प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले यात्रुलाई सचेत गराएकी छन्।

सडक अवरुद्ध हुँदा सुर्खेत, नेपालगन्ज हुँदै  कालीकोट जुम्लाका लागि छुटेका मालवाहक तथा यात्रुवाहक सवारी अलपत्र परेका छन्। जुम्ला कालीकोटबाट छुट्ने सवारी छुटेका छैनन्। सानो मेसिनले बाटो खुलाउन नसकिने भएकाले ठूलो मेसिनको खोजी भइरहेको कालीकोट प्रशासन कार्यालयले जानकारी दिएको छ।

कालीकोटमा पहिरो गएपछि जुम्लाका यात्रु हवाई यातायातको भर पर्नुपर्ने अवस्था सिर्जना भएको छ।

तपाईको प्रतिक्रिया