महिनावारी हुँदा किन पेट दुख्छ ? दुखाई कम गर्न के गर्ने ?

नारीकोसिस डटकम । महिनावारी, निश्चित उमेरमा महिलाहरुमा हुने एक प्रकृतिक नियम तथा प्रक्रिया हो । यो प्रक्रिया हँदा महिलाहरुमा धेरथोर पीडा भएको अनुभव गरेकै हुन्छन् । तर अधिकांश महिलाले त बेस्सरी नै दुखेको महसुस गर्छन् । महिनावारी हुँदा रगत बाहिर पठाउन पाठेघरमा छिन–छिनमा संकुचन आउँछ र त्यस क्रममा पीडा अनुभव हुन्छ । महिनावारीको यस्तो पीडालाई चिकित्सा विज्ञानमा dysmenorrhea भनिन्छ । यस्तो किसिमको दुखाइ तल्लो पेट, कटी प्रदेश pelvic area कम्मर, ढाडको तल्लो भाग वा तिघ्रातिर समेत हुन सक्छ । महिनावारी हुँदा कतिपय महिलालाई तल्लो पेट असाध्यै दुख्न सक्छ र त्यसले सामान्य दैनिक जीवनलाई नै अप्ठयारोमा पार्छ ।
किशोरावस्थामा पाठेघरको मुख केही खुले पनि तुलनात्मक रूपमा सानै हुने भएकाले तरुण अवस्थाको भन्दा बढी दुख्छ । समय बित्दै गएपछि वा सन्तान जन्माइसकेपछि पाठेघरको मुख पर्याप्त मात्रामा ठूलो हुने भएकाले त्यस्तो धेरै पीडा महसुस हुँदैन । त्यसबाहेक यसरी महिनावारी हुँदा रगत निस्कने क्रममा पाठेघरको भित्री परत बाट prostaglandin रसायन निस्कन्छ, जसले रक्त नसामा संकुचन ल्याउँछ र पाठेघरलाई आवश्यक रक्त प्रवाहमा कमी आई अक्सिजनको मात्रामा कमी आउँछ । यो प्रक्रियामा पनि पीडा हुन्छ । यी दुवै प्रक्रिया महिनावारी चक्रकै अन्तरंग प्रक्रिया भएकाले प्राकृतिक नै हुन् ।
दुख्नेबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन् । पेट फुलेजस्तो हुने, चिन्ता बढ्ने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडापन हुने, प्यास लाग्ने, खानाको रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुनिने जस्ता कुरा हुन सक्छन् र त्यस्तो स्थितिलाई Premenstrual tension syndrome भनिन्छ ।
दुखाई कम गर्न के गर्ने ?
पर्यप्ता रुपमा आराम गर्ने। दुखाई कम भएको बेला सामन्य घरेलु कार्य वा पढाइमा व्यस्त रहनुपर्छ । व्यक्तिगत सरसफाइ तथा कब्जियत हुन नदिन विशेष ध्यान पुर्याउनुपर्छ ।
दुखाई कम गर्न बाक्लो कपडा तताएर सेक्न सकिन्छ । तातो पानीले नुहाउँदा पनि पीडा कम गर्न मद्दत पुग्छ । केही तातो पेय पिउँदा वा पेटमा हल्का मालिस गर्दा पनि पीडा कम हुन्छ । महिनावारी भएका बेला कसरत वा व्यायामले पनि पीडा कम गर्न मद्दत गर्छ ।
तपाईको प्रतिक्रिया