सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा
माघ ११, महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुईजना स्वतन्त्रसहित १८ जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सुदूरपश्चिमका ९ जिल्लामा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् ।
प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार यहाँ सबैभन्दा बढी कैलालीमा ११, कञ्चनपुरमा ६ र डोटीमा एकजना महिला आसन्न निर्वाचनमा होमिएका छन् । सुदूरपश्चिममा कुल २१० जनाको उम्मेदवारी परेकामा एकजनाको रद्द भएको र तीनजनाले उम्मेदवारी फिर्ता लिएका उनले बताए ।
महिला उमेदवारमध्ये कञ्चनपुरको निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टीकी बिना मगर, आमजनता पार्टी एकल चुनाव चिह्न सीता विक, स्वतन्त्रबाट मञ्जुदेवी सुनार र रुपादेवी विष्टले उमेदवारी दिएका प्रवक्ता भाटले बताए ।
कञ्चनपुर २ मा नागरिक उन्मुक्ति पार्टी नेपालबाट प्रेमवती राना तथा ३ बाट आमजनता पार्टीकी लक्ष्मीकुमारी विष्ट भट्ट चुनावी मैदानमा छन् ।
यसैगरी, कैलाली १ मा आमजनता पार्टीकी रुपाकुमारी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीकी कोमल ज्ञवाली र नेपाल मजदुर किसान पार्टीकी सुनिता भण्डारा उमेदवार छन् । क्षेत्र नं. २ मा मितेरी पार्टी नेपालकी सम्झना विष्ट थापा र नेपाल मजदुर किसान पार्टीकी लक्ष्मी पुन मगरको उमेदवारी परेको छ ।
कैलाली ३ मा मितेरी पार्टी नेपालकी सुशीला थापामगर र नेपाल मजदुर किसान पार्टीकी जुनु महतारा शाही उम्मेदवार भएर चुनावी प्रचारप्रसारमा व्यस्त छन् । क्षेत्र नं ४ मा नेपाल मजदुर किसान पार्टीकी अमृता भुल, मा मितेरी पार्टी नेपालबाट राधिकाकुमारी कार्की, राष्ट्रिय जनमोर्चाबाट शोभामणि जोशी र नेपाल मजदुर किसान पार्टीबाट तृषण पुनमगर उमेदवार छन् ।
सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये एउटा निर्वाचन क्षेत्र रहेको डोटीमा एकजना मात्रै महिला उमेदवार छन् । यहाँबाट मितेरी पार्टी नेपालकी सरस्वतीकुमारी पाल मल्ल ले उमेदवारी दिएकी छन् । सुदूरपश्चिममा कूल १७ लाख १६ हजार ६६० मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । रासस




तपाईको प्रतिक्रिया