जाडो समयमा बच्चाहरुको हेरचाह कसरी गर्ने ?

जाडो समय बच्चाहरूका लागि सबैभन्दा संवेदनशील मौसम हो । जाडो महिनामा अधिकांश बच्चालाई निमोनिया, घ्यारघ्यार र दमजस्ता समस्याले सताउँछ। यो मौसम ब्याक्टेरिया, इन्फ्लुएन्जा र आरएसपी भाइरसका लागि अनुकुल हुनाले बच्चाहरू चाँडै संक्रमित हुन्छन्। जाडो मौसममा नवजात शिशुको शरीरको तापक्रम कम हुन्छ । फलस्वरूप चिसो लाग्ने सम्भावना बढी हुन्छ ।त्यसैले जाडो मौसममा बच्चाहरुको स्वास्थ्यमा विशेष हेरचाह गर्नुपर्दछ ।
हेरचाह कसरी गर्ने ?
तातो कपडा : शरिरमा हावा नछिर्ने गरी ठिक्कको न्यानो तातो कपडा लगाईदिने । तर चाहिनेभन्दा धेरै कपडा लगाइदिनु हुदैन । जसले गर्दा पसिना आउँछ र त्यो शरीरमा नै सोसिन्छ। यसले झनै चिसो गराएर निमोनिया हुन सक्छ।
तातो घाम तपाउने : बच्चालाई न्यानो राख्नमा सूर्यको तापको पनि जरुरत पर्छ । यसका लागि मध्याह्न १२ बजेभन्दा अघिको घाममा सुताउन उपयुक्त हुन्छ । घाम तपाउने क्रममा शुद्ध तोरीको तेल, नरिवलको तेल वा ओलिभ आयलको तेलले मालिस गरिदिने । १२–१ बजेको घामले बच्चालाई हानी गर्ने हुनाले ८–९ बजे राख्नु राम्रो हुन्छ।
ब्रिकेट बाल्दा ध्यान दिने: कतिपय ब्रिकेट मट्टितेल पनि मिसाएको हुने हुँदा त्यसबाट कार्बन मोनोअक्साइड ग्यास निस्कन्छ, जसले बच्चाको स्वास्थ्यमा ज्यादै असर गर्छ ।त्यसैले ब्रिकेट बाल्दा झ्याल–ढोका पुरै बन्द नगर्ने ।
सरसफाईमा ध्यान दिने: राम्रोसँग हात धोएर, स्यानिटाइजर र मास्क लगाएर मात्र मात्रै बच्चा छुन पर्छ। रुघाखोकी लागेको छ भने ठूलो मान्छेले एन्टिबायोटिक खानुपर्छ जसले बच्चालाई संक्रमण हुनबाट जोगाउँछ।
खानेकुरामा ध्यान दिने : बच्चालाई फ्रिजबाट सिधै निकालेका खानेकुरा नखुवाने। रुघाखोकीका बेला दही र केरा नखुवाउने। सफा, तातो, झोलभएका खानेकुरा जस्तै जाउलो, दाल र गेडागुडीको रसका साथै प्रोटिन र भिटामीन सि भएका खानेकुरा खुवाउँदा बच्चाको स्वास्थ्यको लागि लाभदायीक हुन्छ ।
तपाईको प्रतिक्रिया