इशा लामिछानेको मर्मस्पर्शी कहानी, भन्छिनः “म सुरुदेखिको कुरा गर्छु झर्को नमानिदिनुहोला”

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
इशा लामिछानेको मर्मस्पर्शी कहानी, भन्छिनः “म सुरुदेखिको कुरा गर्छु झर्को नमानिदिनुहोला”

यो जीवन देखे जस्तो सहज सबैको छैन । बाहिर ओठमा मुस्कान हुन्छ भित्र हृदय भरी पिडा । श्रीमान श्रीमतीको सम्बन्ध सबैको राम्रो नै हुन्छ  भन्ने हुदैन ।परिस्थितिले कतिबेला के सिर्जना गर्छ । त्यसै अनुरुप जीवन चल्छ । संचारकर्मी  रवि लामिछानेको डिर्भोस भएकी श्रीमतीले  आफनो जीवनकथा  यसरी पोखेकी छन ।

आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइन । मैले मिडियामा आउन चाहेकी पनि थिइन। म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ । तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढिसकेपछि आफ्नो तर्फबाट केही कुरा प्रष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेकी छु ।

किनकि, मलाई उहाँका प्रशंसकबाट धेरै गालीगलौचका म्यासेजहरु आएका छन् । धेरैले मलाई नै दोषी देखिरहेका छन् ।

रविजीले अन्तरवार्तामा मलाई ‘डिप्रेसनको रोगी’ बताउनुभएको छ । सत्य हो, मैले लामो समय डिप्रेसनको औषधी खानुपर्‍यो । तर, म के कारणले डिप्रेसनमा परे त रु उहाँकै कारणले होइन र आफ्नो श्रीमानले बाहिर १० जनासित सम्वन्ध राखेर अवैध सन्तानसमेत जन्माउँदा कुन श्रीमती डिप्रेसनमा पर्दिन होला र धन्न मैले छोरीहरुको मुख हेरेर आत्महत्या गरिन ।

हाम्रो प्रेम विवाह हो । तर, विवाहपछि मैले उहाँबाट आफूले चाहेको र कल्पेको प्रेमको अनुभूति गर्न सकिन । वैवाहिक सम्वन्धको महत्व श्रीमान भन्दा श्रीमतीलाई बेसी हुन्छ ।

वैवाहिक सम्वन्ध तोडिदा पुरुषले त सजिलै अर्को घर बसाउन सक्ला, तर महिलाले अनेक लान्छना खेप्नुपर्छ । उसलाई समाजले राम्रो दृष्टिकोणले हेर्दैन । छोराछोरीहरुलाई त्यसको असर पर्छ । त्यसैले रविजीबाट वर्षौंंसम्म तिरस्कार झेलेर पनि म हाम्रो सम्वन्धको संरक्षणमा नै दत्तचित्त रहे।

म सुरुदेखिको कुरा गर्छु । झर्को नमानिदिनुहोला ।

०५१ साल मंसिर ११ गते हाम्रो बिहे भएको हो । मेरो घरमा आएर सामान्य सिन्दुरपोते गर्नुभएको थियो । एउटै स्कुलबाट एसएलसी पास गरेलगत्तै बिहे गर्दा दुबै टीनएजर थियौं ।

बिहे गर्दा उहाँ पढ्दै हुनुहुन्थ्यो । पारिवारिक दायित्व आएपछि काम गर्न थाल्नुभयो । उहाँलाई पत्रकारितामा रुची थियो । एफएममा काम गर्न थालेपछि लोकप्रियता पनि कमाउनुभयो । त्यसपछि टेलिभिजनमा हास्य कार्यक्रम पनि चलाउनुभयो ।

स्मार्ट र प्रतिभाशाली हुनुहुन्थ्यो । चलाख पनि । एफएममा काम गर्न थालेदेखि उहाँको लोकप्रियता बढिरहेको थियो । खासगरी केटीहरु उहाँको आवाज र व्यक्तित्वका प्रशंसक थिए । केटीहरुका चिठी धेरै आउँथे । फोन पनि आउँथे । कुनै कुनै चिठीले त मेरो मनमा चिसो पस्थ्यो । आखिर उमेरले पनि कच्चै त थिए।

बिहेलगत्तै म गर्भवती भए । १९ वर्षमै जेठी छोरी जन्माए । त्यसपछि मेरो पढाइ अघि बढ्न सकेन । रविजी पनि पढाइ छोडेर करिअरमै फोकस हुनुभयो ।

बिहेको केही वर्षपछि रविजीको दाइहरुसँग खटपट पर्‍यो । एकजना दाइ पनि सञ्चारकर्मी भएकाले उछिन पाछिन भयो होला । अरु कारण भने जान्दिन । मलाई भने दाइहरुले केही नराम्रो गर्नुभएको होइन ।

दाजुभाइको मनमुटाब बढ्दै गएपछि हामी छुट्टएिर बस्यौं । बानेश्वरमा मासिक ८ र ९ सय रुपैयाँको एउटा कोठा लिएर केही समय गुजारा गरियो । रविजीको राम्रो हुँदै गएपछि केही समयपछि हाँडीगाउँमा ३ कोठाको फ्ल्याट लियौं । रविजी दिनभरि बाहिरै हुनुहुन्थ्यो । म घरमा छोरी स्याहारेर बस्थेँ ।

रविजी आफ्नो प्रोफेसनप्रति पहिलेदेखि नै डेडिकेटेड हुनुहुन्थ्यो । उहाँको प्राथमिकतामा पहिलो नम्बरमा काम, दोस्रोमा साथीभाइ र तेस्रोमा मात्रै परिवार आउँथ्यो ।

हरेक श्रीमतीले आफ्नो श्रीमानसित बढी भन्दा बढी समय बिताउन चाहन्छे । श्रीमानले घरको काम र बच्चाको हेरचाहमा साथ देओस् भन्ने चाहन्छे । म पनि चाहन्थे ।

तर, उहाँ परिवारका लागि समय निकाल्न सक्नुहुन्थेन । फुर्सदको समयमा पनि परिवारसँग भन्दा साथीभाइसँग रमाउनुहुन्थ्यो । चाडबाडको समयमा परिवारसँग कमै बस्नुहुन्थ्यो । दशैंमा म र छोरीलाई टीका टाँसिदिएर निस्किहाल्नुहुन्थ्यो । बरु साथीहरुको घरमा तास खेलेर बस्ने । यस्तै खुद्रामसिना कारणले मेरो उदासी बढिरहेको थियो ।

उहाँ धेरै कार्यक्रमहरुमा भाग लिनुहुन्थ्यो । तर, मलाई कुनै पनि कार्यक्रममा जाउँ भन्नुभएन । कुनै पनि निर्णय गर्दा मसित सल्लाह गर्नुहुन्नथ्यो । उहाँले गर्न लागेका कतिपय कामहरुबारे म अरुका मुखबाट सुन्थे । ‘ए हो र’ भन्नुपर्दा मजा लाग्दैनथ्यो ।

यस्तै चल्दै थियो । एकदिन मैले बाहिरबाट सुने कि उहाँको अमेरिकाको भिसा लाग्यो भनेर । छक्क परे। उहाँले मलाई अमेरिकाको भिसा अप्लाई गरेको बताउनुभएकै थिएन । उहाँ अमेरिका उड्ने तीन दिन अगाडि मात्रै थाहा भयो । उहाँलाई सोध्दाखेरी ‘कार्यक्रममा जान लागेको हो’ भन्नुभयो । मैले यसलाई ठूलो इस्यूका रुपमा लिइन ।

उहाँ हामी आमाछोरीसँग विदा भएर अमेरिका जानुभयो । जाने बेला भन्नुभएको थियो कि उता सेटल हुन सकियो भने तिमीहरुलाई पनि लैजान्छु । म खुशी नै थिएँ ।
रविजी अमेरिका गएको भोलिपल्ट हाम्रो ल्यान्डलाइन फोनको घन्टी बज्यो । एक अपरिचित केटीले फोन गरेकी थिइन् ।

‘ओई, तेरो पोई कहाँ गएको हो भन र फोन उठाउनासाथ उताबाट चर्को स्वरमा यस्तो आवाज आयो । म झसंग भए ।

उस्तै कडा स्वरमा जवाफ दिए, ‘जहाँ गए पनि किन चाहियो तँलाई र को होस तँ’ उनले भनिन्, ‘तेरो पोईले मलाई धोका दिएर भाग्यो । उसले मबाट दुईटा सन्तान जन्माएको छ । कहाँ गएको हो र भनिनस् भने तिमीहरु आमाछोरीलाई किडन्याप गराइदिन्छु ।’

मैले उनको कुरा पत्याइनँ । झ्याप्प फोन राखे।

तर, उनले बारम्बार फोन गरेर टर्चर दिन थालिन् । धम्क्याउन थालिन् । त्यसपछि मैले आफ्नो माइतीका दाजूहरु र देवर रविजीको कान्छाबुबाका छोरालाई यो कुरा सुनाए । उहाँहरुले ल्यान्डलाइनमा कलर आइडी राखौं भन्नुभयो ।

टेलिकममा केही पैसा तिरेर कलर आइडी राखियो । दाइ र देवरले त्यो नम्बरमा फोन गरेर ती केटीको घर र अफिस पत्ता लगाउनुभएछ । म्यानपावर कम्पनीमा काम गर्दिरहिछन् ।

त्यसपछि प्रहरीमा जाने कुरा भयो । मैले रविजीलाई फोन गरेर भने कि यस्तो – यस्तो फोन आइरहेको छ । हामी प्रहरीमा जाने विचार गरिरहेका छौं । उहाँले ती केटीको विषयमा आफूलाई केही थाहा नभएको बताउनुभयो र प्रहरीमा जाँदा हुन्छ भन्नुभयो ।

त्यसपछि दाइ र देवरले ती केटीलाई अफिसमा गएर भेट्नुभयो । अनि, चेतावनी दिनुभयो कि अब आइन्दा फोन गरिस् भने तेरो घरमा प्रहरी आउँछ । त्यो केटी डराइछ । त्यसपछि उसको फोन आएन । यो घटना यत्तिकै सामसुम भयो ।

त्यतिबेला मैले सोचेकी थिए कि ती केटी रविजीको कुनै फ्यान होलिन् । तर, अहिले सोच्दा उनीसँग रविजीको केही थियो कि भन्ने पनि शंका लाग्छ । आखिर यत्तिकै त कसैले अर्काको श्रीमतीलाई धम्क्याएर फोन गर्दैन नि । जे होस् त्यो समस्या सल्टिएपछि यसलाई मैले त्यतिबेला इस्यू बनाइन।

अमेरिका गएको ६ महिनामा भिसा प्रक्रियाका लागि उहाँ नेपाल फर्किनुभयो । मलाई फेरि गर्भवती बनाएर उहाँ फेरि अमेरिका जानुभयो । अब मेरा काँधमा दुई छोरीको जिम्मेवारी आइपर्‍यो ।

छोरी जन्माउने क्रममा सासूआमाले सहयोग गर्नुभयो । न्वारन सकेपछि माइत गए। माइतीको सहयोगले गर्दा छोरीहरु हुर्काउन केही सजिलो भयो ।

रविजी अमेरिका फर्किएको केही समयपछि मलाई अर्को टर्चर सुरु भयो ।

मैले विभिन्न व्यक्तिहरुका मुखबाट रविजीको अमेरिकामा एकजना विवाहित नेपाली महिलासित अफेयर चलिरहेको भन्ने गाईगुई सुन्न थाले । सुरुमा त हल्ला मात्रै होला भनेर त्यति ध्यान दिइन। तर, हल्ला बाक्लो हुँदै गयो । मेरो परिवार र आफन्तहरुको कानमा समेत यो कुरा पर्‍यो । जसले पनि यही कुरा सोध्न थाले, ‘के हो, तिम्रो बुढा त अमेरिकामा अर्कैसित बस्छ रे नि रु मैले त्यस्तो केही होइन, झूटो हल्ला हो भनेर टारिदिए।

हुँदाहुँदा म आफ्नो मामाघर पनि जान नसक्ने अवस्था आयो । मानसिक तनाव बढ्दै गयो । रविजीलाई फोनमा सोध्थे, यस्तो हल्ला सुनिरहेको छु, के हो भनेर । उहाँले ठाडै नकार्नुहुन्थ्यो ।

तर, उहाँहरुका थरीथरी फोटोहरु बाहिर आउन थालेपछि मित्रता मात्र होला भनेर पत्याउन गाह्रो हुँदै गयो । एकपटक त मैले रविजीलाई फोन गर्दा तिनै महिलाले उठाउनुभयो । त्यहीबेलादेखि हो मैले डिप्रेसनको औषधि खानुपरेको ।

जसोतसो आफूलाई सम्हाल्दै दुई छोरीलाई लालन पालन र शिक्षादीक्षा दिलाउँदै गए । घरमा एकजना बहिनीलाई काम सघाउन राखेकी थिएँ ।

रविजीले अमेरिकाबाट पैसा भने नियमित पठाइदिनुहुन्थ्यो । पैसाको दुःख हुन दिनुभएन । अर्कोसित अफेयरमा रहे पनि उहाँले मलाई अमेरिकामा ल्याउन प्रोसेस गरिरहनुभएको थियो । प्रोसेस पूरा गरेर २००८ मा म दुई छोरीहरु लिएर अमेरिका गए। त्यतिबेलासम्म उहाँले बाल्टिमोरमा घर र गाडी जोडिसक्नुभएको रहेछ ।

अमेरिका गएपछि छोरीहरु स्कुल भर्ना गरेर मैले पनि काम थाले । केही समय बाहिर काम गरे। रविजी एउटा सब वे स्टोरमा म्यानेजर हुनुहुन्थ्यो । आम्दानी राम्रै थियो । पछि उहाँले आफैं सब वे स्टोर खरिद गर्नुभयो । म त्यसैमा काम गर्न थालेँ । उहाँ चाहिँ बाहिरै काम गर्नुहुन्थ्यो । त्यतिबेला अमेरिकामा भर्खर गएका नेपालीहरुलाई काम खोजिदिन उहाँ निकै सघाउनुहुन्थ्यो ।

मलाई अमेरिका जाँदा पनि धेरैले मलाई उही कुरा सुनाए । ‘तेरो बुढा त फलानोसँग लागेको छ नि’ भनेर धेरैले भन्थे । तर, म गएपछि रविजीले ती महिलासँग ब्रेकअप गर्नुभयो । दुवैजना विवाहित भएकाले सम्वन्धलाई निरन्तरता दिन सजिलो पनि थिएन उहाँहरुलाई । यद्यपि, ती महिलाले उहाँसँग विवाह गर्ने प्रस्ताव राख्नुभएको थियो रे । यस विषयमा उहाँहरुबीच ठूलै झगडा भएको मैले पछि सुने।

म अमेरिका गएलगत्तै ती महिला रविजीसँग रिसाएर नेपाल फर्किनुभएछ । एक प्रतिष्ठित र जहान परिवारवाली व्यक्ति भएको हुनाले म ती महिलाको नाम लिन सक्दिनँ । उहाँका धेरै फोटो र लिप साइन गरिएका कागज मैले रविजीको ड्रयरमा भेट्टाएकी थिएँ ।

अमेरिकामा सँगै बसेपछि दाम्पत्य जीवन सुखद होला भन्ने कल्पनामा रमाएकी थिए। तर, मैले सोचेजस्तो भएन । किन – किन उहाँ मसँग तर्किनुहुन्थ्यो । मैले असन्तुष्टिको कारण सोध्दा पनि केही बताउनुभएन । मन खोलेर कहिल्यै कुरा गर्नुभएन । मलाई यसरी अवहेलना गरे पनि छोरीहरुलाई भने माया गर्नुहुन्थ्यो । अहिले पनि गर्नुहुन्छ ।

पारिवारिक दायित्व प्राविधिकरुपमा निभाउनु भएको थियो । घरका आवश्यकताका कुराहरु जुटाइदिनुहुन्थ्यो । छोरीहरुको शिक्षादीक्षा, घरको किस्ता सबै कुराहरु हेर्नुहुन्थ्यो । काममा दिनरात मिहिनेत गर्नुहुन्थ्यो । सबै कुरा राम्रो हुँदाहुँदै पनि स्वास्नीसित राम्रो व्यवहार गर्नुभएन ।

मैले कहिलेकाहीँ टाउको दुख्यो भन्दा पनि झर्किनुहुन्थ्यो । बिरामी हुँदा एक्लै अस्पताल जानुपथ्र्यो । एउटै ओछ्यानमा पनि हामी अपरिचित जसरी सुत्थ्यौं ।

यिनै कारणले हामीबीच असमझदारी बढ्दै गयो । म पनि उहाँसँग मुखमुखै लाग्न थाले। भनेको टेर्न छोडे । उसले मलाई श्रीमतीको भ्यालु दिँदैन भने म मात्रै किन लाचार बनिरहने जस्तो लाग्थ्यो । छोरीहरुका अगाडि भने हामी आफ्नो झै-झगडा लुकाउन खोज्थ्यौं । तर, कति दिन लुकाएर साध्य हुन्थ्यो र

एक दिन हाम्रो ठूलै झगडा भयो । र, उहाँ घरै छोडेर हिँड्नुभयो ।

त्यतिबेला उहाँको बाहिर एक विदेशी केटीसँग चक्कर चलिरहेको रहेछ । सायद त्यही भएर म प्रति वितृष्णा पैदा भएको रहेछ । उहाँ घर छोडेर त्यही केटीसँग लिभिङ टुगेदरमा बस्न थाल्नुभएछ ।

बेलाबखत घरमा आउनुहुन्थ्यो । आवश्यकताका वस्तुहरु किनेर राखिदिनुहुन्थ्यो । अनि जानुहुन्थ्यो । मसित खासै नबोले पनि छोरीहरुसित बोल्नुहुन्थ्यो ।

सन् २०१३ मा म दुबै छोरीहरुलाई लिएर छुट्टी मनाउन नेपाल आए। हामी आउनुभन्दा दुई हप्ता अगाडि उहाँ पनि नेपाल आउनुभएको थियो, गिनिजबुकमा नाम राख्ने सिलसिलामा । तर, हाम्रो भेट भएन ।

नेपाल आएको केही दिनमा मलाई अमेरिकामा रविजीको स्टोरमा काम गर्ने एउटी केटीको म्यासेज आयो । ‘तिम्रो श्रीमानले तिमीलाई दुई वर्षदेखि धोका दिइरहेको छ । उ एउटी केटीसँग लिभिङ टुगेदरमा छ र एउटा छोरा पनि भइसकेको छ,’ उनले लेखेकी थिइन् ।

उनले को केटी हो त्यो भनेर भन्न मानिनन् । मलाई उनको कुरा पत्याउन गाह्रो पर्‍यो ।

मलाई आमाले त पहिलेदेखि नै भन्नुहुन्थ्यो कि लोग्नेमान्छे त्यत्तिकै बाहिर एक्लै बस्दैन, होस गर भनेर । मैले आफ्नो श्रीमान त्यतिसम्म त गिर्नुहुन्न होला भन्ने सोचेकी थिए । तर, नसोचेको भयो ।

त्यतिबेला रविजी नेपालबाट अमेरिका फर्किसक्नुभएको थियो । मैले उहाँलाई फोन गरे। उहाँले त्यो केटीसँगको सम्वन्ध सहजै स्वीकार्नुभयो । ‘हो हाम्रो छोरा पनि छ,’ उहाँले भन्नुभयो । उहाँले केटी पनि चिनाउनुभयो । मलाई म्यासेज गर्ने केटी नै रहिछन् ।

उनीसित मेरो रविजीको अफिसको पार्टीमा भेटघाट र चिनजान भएको थियो । फेसबुकमा पनि साथी थिइन् र बेलाबखत कुरा पनि हुन्थ्यो । उनैसित सम्वन्ध राखेर रविजीले सन्तानसमेत जन्माएको सुन्दा म त छाँगाबाट खसे झैं भइहाले । छाती भत्भती पोल्न थाल्यो ।

मैले यो कुरा आमालाई बाहेक अरु कसैलाई सुनाउन सकिनँ । छोरीहरु लिएर केही दिनपछि अमेरिका फर्किए ।

हामी अमेरिका फर्किदा उहाँ घरमै हुनुहुन्थ्यो । उदास मुद्रामा देखिनुहुन्थ्यो । हामीबीच कुराकानी भयो । उहाँले विदेशी केटीलाई आफूले छोडिदिएको सुनाउनुभयो । आफूहरुबीच कानूनीरुपमा बिहे नभएको र बच्चा मात्रै भएको उहाँको स्पष्टीकरण थियो ।
भावनात्मकरुपमा वर्षौदेखि एक्ली थिएँ, अब कानूनी रुपमा पनि एक्ली भएकी छु । छोरीहरुप्रतिको जिम्मेवारी बाँकी छ । उनीहरुको आर्थिक दायित्व रविजीले लिनुभएको छ । तर, अभिभावकत्व त मैले नै दिनु छ ।

उहाँले अब घरमै मिलेर बस्ने प्रस्ताव राख्नुभयो । तर, फेरि पनि सम्वन्ध सुधार हुन सकेन । मैले बाहिर सुने कि उहाँहरुले एउटा मन्दिरमा गएर बिहे पनि गरिसक्नुभएको थियो । उहाँलाई बारम्बार ती महिलाको फोन आइरहन्थ्यो । कहिले बच्चा बिरामी भयो भन्ने, कहिले के भन्ने । यो मलाई सैह्य हुन सकेन । आफ्नो श्रीमानमाथि अर्को महिलाले हक जमाएको कुन श्रीमतीलाई स्वीकार्य होलार र

त्यसपछि मैले उहाँलाई प्रष्ट शब्दमा भनें, ‘कहिलेसम्म दुईवटा डुंगामा खुट्टा राख्छौ  बरु त्यो बच्चालाई घर लिएर आउ । म हुर्काइदिन्छु । तर, तिमीले अर्की महिलासँग गएर रात बिताएको म सहन सक्दिनँ । तिमी उसित पूर्णरुपमा अलग हुन सक्दैनौ भने मलाई डिभोर्स देऊ ।’

उहाँले डिभोर्स गर्न नसक्ने बताउनुभयो । बरु दोस्रो सम्वन्धबाट अलग हुने प्रतिवद्धता जनाउनुभयो । तर, पारा भने फेरिएन । मप्रति झन् धेरै वितृष्णा । शारीरिकरुपमा नजिक हुनै नचाहने । त्यहीबेलादेखि हो, सोफामा सुत्न थाल्नुभएको ।

आखिर के कारणले मसित नजिक हुन खोज्दैनौ भनेर सोध्दा जवाफ दिनुहुन्थ्यो, ‘भर्खरै यत्रो कान्डबाट निस्केको छु । तिमीप्रति फिलिङ्स आउन मलाई समय लाग्छ । बरु मलाई औषधी खुवाएर बेहोश बनाऊ र जे गर्नु छ गर ।’

यसरी हाम्रो सम्वन्ध भयंकर जटिलताको भूमरीभित्र फँस्यो ।

मसँगै बस्न मन नलागेर हो वा नेपालमै केही गरौं भन्ने मनसायले हो, वा दुवै कारणले हो, रविजी अमेरिका छोडेर नेपाल जानुभयो ।

टेलिभिजनमा काम थाल्नुभयो । नाम कमाउनुभयो । सर्वत्र उहाँको चर्चा हुन थाल्यो । टेलिभिजनमा उहाँ ठूला आदर्शका कुरा गर्ने । सबैलाई नैतिकताको पाठ पढाउने । उहाँको यस्तो प्रस्तुति मलाई ठूलो आडम्बर लाग्थ्यो ।

आफ्नै श्रीमतीलाई दुई दशकदेखि अन्यायमा राखिरहेको व्यक्तिले अरुको परिवार मिलाउन हिँडेको देख्दा हाँसो पनि उठ्थ्यो । तर, मैले उहाँको प्रगतिमा बाधा पुर्‍याउने कहिल्यै चेष्टा गरिन ।

निजी जीवनका विषयहरु पर्दाफास गरेर उहाँको करिअर सिध्याइदिन उक्साउनेहरु धेरै थिए । तर, अहँ मलाई मन लागेन । फेसबुकमा समेत आफ्नो निजी जीवनका बारेमा केही लेखिन ।

उहाँको सबैभन्दा ठूलो सम्पत्ति नै नाम थियो । त्यही नामलाई बदनाम बनादिएर आखिर मैले के पाउँथे र र यही सोचेर चुपचाप बसेँ ।

टेलिभिजन पत्रकारिताबाट उहाँले केही असाध्यै राम्रा काम गर्नुभएको छ । त्यसको म पनि प्रशंसा नै गर्छु । मेरो भन्नु यत्ति हो कि अरुलाई उपदेश दिनेले आफू पनि त ठीक बाटोमा हिँड्नुपर्‍यो नि, होइन र

यसवीचमा उहाँले म सित सम्वन्ध सुधार्ने कुनै संकेत देखाउनुभएन । बरु झन (झन टाढिँदै जानुभयो । नेपालबाट मलाई कहिल्यै फोन नगर्ने । केही भन्नुपरे छोरीहरुमार्फत भन्नुहुन्थ्यो । एक वर्षदेखि उहाँको र मेरो दोहोरो संवाद नै भएको थिएन ।

करिब ६ महिना अगाडि जेठी छोरीमार्फत डिभोर्सको कुरा निकाल्नुभयो । छोरीले मसित भनी । मैले ठाडै अस्वीकार गरे । तर, छोरीको दिमाग भुटेर लगातार दबाव दिन थाल्नुभयो । उहाँले पैसा र सम्पत्तिको प्रलोभनहरु दिनुभयो ।

‘यदि तिम्री आमा अहिल्यै मेरो सम्पत्ति लिएर अलग भइनन् भने पछि समस्या पर्छ । किनकि, मेरो सम्पत्तिमा विदेशी महिलाको छोराले पनि हक माग्न सक्छ । त्यतिबेला हाम्रो सम्पत्ति तीन भाग लगाउनुपर्ने हुन सक्छ । घर जान्छ । तिमीहरु सडकमा आउँछौ । अहिले नै डिभोर्स गर्ने हो भने भएको सबै सम्पत्ति दिन तयार छु ।’ बुवाले भनेको कुरा सुनाउँदै छोरीले मलाई भनी ।

पैसा र सम्पत्तिकै लागि म आफ्नो २५ वर्ष लामो दाम्पत्य सम्वन्ध टुंग्याउन चाहन्नथे। उहाँले माया नगरे पनि मेरो त माया थियो नि उहाँप्रति । कसरी आफ्नो मनबाट निकालु उहाँलाई

तर, छोरीहरुले निकै प्रेसर गर्न थाले । आखिर उनीहरु पनि हाम्रो निरन्तरको कलहबाट आजित भइसकेका थिए ।

‘सम्पत्ति लिएर अलग अलग बस्नुस, आ-  आफ्नो गरी खानुस, कतिञ्जेल यसरी तनाव बोकेर बस्ने र’ जेठी छोरीले भनिन् । कान्छी छोरीको पनि उस्तै भाव थियो । तपाईहरुको झगडाले हामीलाई असर गर्छ भन्थे ।

त्यसैले अन्ततः मैले मुटुमा ढुंगा राखेर डिभोर्स पेपरमा साइन गर्ने निर्णय लिएँ र नेपाल आएँ ।

नेपालमा पनि रविजी मसित प्रत्यक्ष कुरा गर्नै नचाहने । आफ्नोतर्फबाट अख्तियारनामा दिएर एक व्यक्ति भिडाउनुभएको थियो । उसैसँग मैले डिल गर्नुपथ्र्यो ।

नेपालमा श्रीमानले पनि सम्वन्धविच्छेदको मुद्दा दिन पाउने व्यवस्था भदौ १ बाट लागू भएको रहेछ । त्यसको ३ र ४ दिनमै उहाँले डिभोर्सको मुद्दा दायर गरिसक्नु भएकोरहेछ ।

मैले नेपाल आएर फेरि पनि अन्तिम प्रयास गरेँ मिल्नका लागि । तर, उहाँ भेट्नै नआउने । मैले पनि उहाँको एजेन्टमार्फत खबर पठाइदिएँ कि नभेट्ने हो भने बहुविवाहको मुद्दा लगाएर जेल पठाइदिन सक्छु ।

धम्कीमात्रै दिएकी थिएँ । मुद्दा लगाउने सोच त थिएन । तर, यसले काम गर्‍यो । उहाँ बल्ल भेट्न आउनुभयो ।

मैले भनेँ, ‘अझै पनि केही बिग्रेको छैन, पुराना कुरा भुलेर नयाँ जीवन अघि बढाउँ ।’ उहाँले ठाडै नकार्नुभयो ।

‘म मिल्ने कुरा गर्न आएको होइन । बरु सम्पत्ति, पैसा के कति चाहिन्छ, भन’ भन्नुभयो ।

उहाँ आफ्नो काठमाडौंमा रहेको अपार्टमेन्ट र अमेरिकाको घर दुबै मलाई दिन तयार हुनुहुन्थ्यो । यसरी डिभोर्सका लागि आफ्नो सबै सम्पत्ति सुम्पिन पनि तयार हुनुको पछाडि एउटै कारण थियो, उहाँको नयाँ अफेयर ।

रविजी केही समयदेखि एक डिभोर्सी महिलासँग अफेयरमा हुनुहुँदो रहेछ । उहाँहरुबीच ईंगेजमेन्ट समेत भइसकेको हल्लासमेत सुने। सत्य हो कि होइन थाहा छैन । तर, विवाहका लागि मसितको सम्वन्ध तोड्नैपर्ने वाध्यता रविजीलाई थियो । त्यसैले आफ्नो बाटो क्लियर गर्नका लागि सबैथोक सुम्पन तयार हुनु भएको हो ।

यति थाहा पाइसकेपछि अब मैले उहाँसित थप किचकिच गरिरहनुको अर्थ भएन । अन्ततः मैले मंसिर ९ गते डिभोर्स पेपरमा साइन गरेँ ।

मंसिर ११ गते हाम्रो विवाहको २५ औं अर्थात् सिल्भर एनिभर्सरी थियो । त्यसको दुई दिनअगाडि उहाँले मलाई डिभोर्स पेपर हातमा थमाइदिनुभयो । ‘एनिभर्सरी गिफ्ट’ मानेर त्यसलाई स्वीकारे। त्यस रात म खुबै रोएँ ।

मैले उहाँलाई त्यतिबेला भनेकी थिएँ, ‘दुई दिन पर्ख न त, एनिभर्सरीकै दिन डिभोर्स गरौं । तिम्रो नाममा अर्को रेकर्ड पनि हुन्छ ।’

तर, उहाँको हतार उहाँलाई नै थाहा थियो ।

भावनात्मकरुपमा वर्षौंदेखि एक्ली थिएँ, अब कानूनी रुपमा पनि एक्ली भएकी छु । छोरीहरुप्रतिको जिम्मेवारी बाँकी छ । उनीहरुको आर्थिक दायित्व रविजीले लिनुभएको छ । तर, अभिभावकत्व त मैले नै दिनुछ ।

कागजीरुपमा डिभोर्स गरे पनि रविजीलाई मैले आफ्नो मनबाट निकाल्न सक्दिनँ । कहिल्यै निकाल्ने पनि छैन । म मरेपछि मात्रै उहाँलाई बिर्सिन सक्छु ।

मैले डिभोर्स गरेलगत्तै रविजी र छोरीका नाममा ‘आर थ्री र लभ साइन’ लेखिएको ट्याटु खोपाएँ । यो ट्याटुले मलाई सदा उहाँको अनुभूति गराइरहनेछ ।

डिभोर्सपछि पनि मैले आफ्नो थर लामिछाने नै लेखिरहेकी छु । धेरैले मलाई थर किन चेञ्ज नगरेको भनेर सोध्नुभएको छ । म भन्न चाहन्छु कि यो थरमा मेरो हक लाग्छ । ।मैले २५ वर्षसम्म बोकेर हिँडेको थर कसरी तुरुन्तै निकालेर फ्याकौं र अहँ सक्दिनँ । उहाँ मेरो श्रीमान नरहे पनि मेरा छोरीहरुको बाबु त आजीवन हो नि

मान्छेले जीवनमा गल्ती गर्छन् । तर, गल्ती महसुस गरेर आफूलाई सच्याउनु महानता हो । रविजी सम्भवतः चाँडै विवाह गर्दै हुनुहुन्छ । उहाँको तेस्रो विवाह र चौथो प्रेम सम्वन्ध असफल नहोस् । म अझै पनि उहाँको प्रगति हेर्न चाहन्छु । पूर्वपत्नीको तर्फबाट यही शुभकामना छ कि उहाँको तेस्रो दाम्पत्य सम्वन्ध सफल र दीर्घायू होस् ।

जहाँसम्म मेरो जीवनको सवाल छ, त्यसबारे केही निर्णय लिएको छैन । तिमी पनि अर्को बिहे गर न भन्नेहरु धेरै छन् । मैले माथि पनि भनेँ कि डिभोर्स गरेका पुरुषलाई अर्को घर बसाउन जति सजिलो छ, महिलालाई छैन । त्यसमाथि यति ठूलो चोटबाट निस्कन मलाई समय लाग्छ । भविश्य त कसले देखेको छ र होइन र ?

तपाईको प्रतिक्रिया