तामाको बहुउपयोगी गुणहरु

नारी कोसिस डटकम/बाँसबाट तामा बन्छ । तामाको अचार, तरकारी वा सुप, के खानुहुन्छ जसरी खाए पनि यो स्वादिष्ट हुन्छ । यसले मानव स्वास्थ्यमा समेत फाइदा पुर्याउँछ । जाडोमा तामाको सुप खानु झनै फाइदाजनक छ । खासगरी, तामा, निगालो, चोया र भालुबाँस तामाका लागि उपयुक्त हुन्छ । अंग्रेजीमा बेम्बो सुट भनेर चिनिने यो सब्जी क्यानमा प्याकिङ गरिएको समेत पाइन्छ । जुन स्थानीय तामाभन्दा महँगो हुन्छ ।
यहाँ प्रचलित तामा नेपालको रैथाने परिकार हो । यद्यपि, यसको परिकार खाने प्रचलन छिमेकी चीन, थाइल्यान्ड र जापानसँगै एसियाका अन्य देशमा पनि छ । जापानीहरूले बाँसलाई ‘किङ अफ ग्रास भनेर आफ्नो पाक शिक्षामा राखेका छन् ।
बनाउने विधी
सर्वप्रथम, तामा बाँसको कलिलो मुन्टा भाँचेर ल्याउने र स–सना टुक्रा बनाउने । केही समय घाममा सुकाएर मोल्ने अनि सफा माटोको भाँडो वा डिब्बामा हावा नछिर्ने गरी बन्द गरेर राखिदिने । यसरी जति लामो समय राख्यो, त्यति नै तामामा अम्लीयपन बढ्छ । परम्परागत रूपमा भने तामालाई प्लास्टिकको झोलामा जमिनमुनि महिनौँसम्म गाडेर राख्ने चलन छ । तर, व्यावसायिक रूपमा उत्पादन गर्नेहरूले भने एयर टाइट बोटलमा भिनेगर हालेर सुरक्षित राखिन्छ । अनि, ट्याग लगाएर बिक्री गरिन्छ ।
उपयोगिता
१.बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ ।
२.बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्याउँछ ।
३.पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ ।
४.पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ ।
५.गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ ।
६.ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ ।
७. नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ ।
८.तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ । त्यसैले तामालाई मुटु स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ । तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ ।
९.आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ ।
११.रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ ।
१२.फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा ।
१३.स्वासप्रस्वासको बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ ।
१४.बाँसको तामा मात्र होइन, पात पनि विभिन्न हर्बल बनाउन प्रयोग गरिन्छ ।
के–के परिकार बन्छन्:
नेपालमा आलु–बोडी–तामाको तरकारी बढी प्रचलित छ । बाँसको टुसालाई सीधै तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, तामाको अचार पनि लोकप्रिय छ । तामा हालेर मासु पकाउँदा थप स्वादिष्ट हुन्छ । खानाको सुरुवाती अर्थात् एप्पिटाइजर सलादका रूपमा समेत यो उपयोगी छ ।
तपाईको प्रतिक्रिया