के हो “साचो प्रेम” ? ‘कथा’
सुनिता तामाङ
मास्टर डिग्रिको परिक्षा सकेर करिव दश दिन पछिको पहिलो दिन थियो मेरो अफिसमा।म अफिसको एकाउन्टेन, त्यसै पनि मेरो जीम्मेवारी धेरै थियो।विहानको लगभग साढे दश बजेको थियो । म आफ्नो काममा व्यस्त थिए । यत्तिकैमा मोवाईलको घन्टि बज्यो।मोवाइर्ल हेरे । नम्वर हाकिमको रहेछ । ‘नमस्कार सर! ’ “नमस्कार ! मैले फेसबुक म्यासेन्जरमा एउटा डकुमेन्ट फरवार्ड गर्दिएको छु, चेक गरेर………मेल गरिदिनु ।” मैले हुन्छ भन्न नपाउदै फोन कट्यो।त्यसपछि मैले कम्युटरमा आफ्नो फेसबुक आइडि खोलि डकुमेन्ट हेरेर……..इमेल गरिदिए।परिक्षाले गर्दा फेसबुक रामरी हेर्न पाएको थिईन। म्यासेज, नोटिफिकेशन पनि धेरै आएको रहेछ।तर पहिला काम सकाउछु अनि मात्र म्यासेज, नोटिफिकेशन विस्तारै हेर्छु भनेर मनमनै सोचेर लग आउट साईनमा माउस के मात्र पुर्याएकि थिए, फेसबुक वालको सुरुमै एक जना साथीको पोस्टले मलाई कम्युटरको माउस लग आउट साइनमा पुगेर टक्क अढाईदियो ।
“आफुसंग टाढिदा होस् या नजिकिदा आफुले पाउँदा होस् या गुमाउँदा यदि उसैको भलाई र सुखको हरपल चाहाना राख्नुहुन्छ, कामना गर्नुहुन्छ भने त्यही हो ‘साचो प्रेम’ ।”
त्यही ‘ साचो प्रेम’ भन्ने शव्दले एक-एक गरी मैले जीवनमा कसैलाई गरेको प्रेमलाई सम्झिदै बाँकी बाक्य अशं पढ्न प्रेरित गर्यो । मन कता कता तरंगित हुन थाल्यो।अतितहरु मन मष्तिकमा सलबलाउन थाले।त्यो कुराले मलाई अतितको त्यो ठाउँमा पु्याईदियो जहाँ मैले अठोट लिएकी थिए कि फेरि यो दिनलाई सम्झने छैन भनेर । तर पनि मनै न हो बहकिदो रहेछ।हुन त मेरो आफ्नो जीवनले धेरै फट्को मारीसकेको छ।सायद अहिले जो कोहीलाई लाग्न सक्छ कि मेरो जीवनमा पनि त्यस्तो घटना घटेको हुन सक्छ र ? अक्सर मान्छेहरु कहाँ मनभित्रको कुरा बुझ्ने हुन्छन् र ? एक अर्कोको पिडा बुझिदो हो त जसले मलाई जीवनभर साथ दिन्छु भनेको थियो उसले साथ छोड्दैनथ्यो होला।अनि जुन समयमा माया, प्रेम र साथको आवश्यकता थियो।त्यतिबेला समाजको डर र त्रास मा त बाँच्नुपर्दैन थियो होला ।
प्रेमिल बातावरणले जीवनमा ल्याएका अविरल परिवर्तनहरु र जीवनकै सवैभन्दा नजिकको साथी बन्न सफल र प्रेम सँगै विचारले जोडिएको सम्बन्ध सिसा टुट्छ र टुक्रा-टुक्रा भएर मुटुमा धुँजा-धुँजा घाउ बनाउछ भनेर मैले सोच्न त के कल्पना पनि गरेकी थिईन । सोच्नु पनि कसरी ? ऊ एउटा सामाजिक अभियान्ता साथै अन्यायमा परेकालाई न्याय दिन आवाज उठाउने व्यक्ति ! महिला अधिकारका आवाजलाई बुलन्द गर्ने महिला अधिकारकर्मीका रुपमा परिचित थिए । मैले उसको वारेमा कुनै शंक गर्ने ठाउँ नै थिएन। हामी दुवै जना एक राजनीतिक तथा सामाजिक अभियान्त थियौ। भावनात्मक तथा बैचारिक रुपमा हामी एक अर्काका दुखसुखको सारर्थी थियौ।उसले मलाई समाज परिवर्तनको सम्वाहकका रुपमा अघि बढ्नुपर्छ भनेर एकप्रकारको शक्ति प्रदान गरिरहन्थ्यो । म पनि उसको कुरालाई कहिले काट्दिन थिए।काट्नु पनि कसरी ? उसका कुरा सवै जायज नै हुन्थ्यो। यसरी नै हामी सम्बन्धको करिव ५ वर्षको सुःख दुःखको यात्रामा थियौं।दुवै जना खुशी थियौं।साथै हामीले हाम्रो छुट्टै सुन्दर सपना बुनेका थियौं।तर जीवन कहाँ एकनास हुँदो रहेछ र ? जीवन त सोचे भन्दा कयौं गुना फरक हुँदो रहेछ।भोगाई पछि मात्रा वल्ल जीवन के भन्ने कुरा महसुस हुँदो रहेछ।वरिपरि मान्छे, विचमा माईक अगाडि यस्तो, उस्तो भनी भाषणवाट तालि खानु र त्यही कुरा आफ्नै व्यवहारिक जीवनमा लागू गर्नु पर्दा कति गाह्रो हुदोरहेछ तव मैले थाहा पाए। साथै समाज के हो ? म बाँचिरहेको समाज कति साँघुरो रहेछ ? भन्ने पनि भित्र हृदयदेखि महसुश गरे।सरल अनि खुशी बाट सोच्दै नसोचि कति कठिन यात्रामा प्रवेश भयो जीवन… शिशिरमा उजाडिएको रुख सरी। त्यो पनि महशुस हुदै थियो जीवनमा ।
अहिले सम्झिदा पनि आङ्ग सिरिङ्ग हुन्छ।हुन त समाजशास्त्रले त भनेकै छ, समाज सरलबाट जटिलतर्फ उन्मुख हुन्छ भनेर।सायद रहेछ क्यार। किनकि मेरो जीवन पनि त्यसरि नै सरलताबाट जटिलतातर्फ उन्मुख भएको थियो, यो के सानो कुरा थियो र मेरो लागि ।
कुरा त्यो समयको हो, जव तत्कालिन समयमा नेपाल कम्युनिष्ट पार्टि माओवादीले जनयुद्ध सुरु गरिसकेको थियो । तर्सथ युद्ध चलिरहेको थियो।देश राजनीतिक चरम संकटमा अघि बढिरहेको थियो।साथै हाम्रो व्यक्तिगत जीवन पनि एउटा सुःख दुःख को यात्रामा अघि बढ्दै थियो।हामी दुवैजना कम्युनिष्ट विचारधारमा आस्था राख्थ्यौ। तर माओवादी कार्यकर्ता भने बनीसकेको थिएनौ। मात्र सामाजिक कार्यकर्ता मात्र थियौं । त्यसैले असुराक्षाको घेरामा भने थिएनौ।स–साना सामाजिक अभियान कार्यक्रमहरुमा व्यस्त थियौं ।
ऊ बाहुनको छोरा। म मंगोलियन परिवारकी छोरी। जातिगत हिसाबले हाम्रो कतै मेल थिएन।तर विचारधारमा एक थियौं।किनकि हामी जातिय विभेद उन्मुलन विरुद्धको अभियानमा हिँडिरहेका थियौ त्यसैले पनि जातिय विभेदको त कुरा छँदै थिएन हामीविच ।संस्थाले तोकेको कार्यक्षेत्र एउटै भएकोले एक-अर्काको काममा पनि सहकार्य हुनु स्वभाविक थियो।म समाजमा भएका कुरितिहरुलाई उन्मुलन गरी एउटा नयाँ समाज निर्माणको कार्यमा अघि बढिरहेकि थिए। जातिगत, त्यसमाथि एउटा महिलाप्रति हेर्ने जुन दृष्टिकोण छ हाम्रो नेपाली समाजमा, त्यसलाई परिवर्तन गर्न चाहन्थे, त्यसैले पनि मलाई त्यस्तो साथीको आवश्यक थियो जो मेरो लक्ष्य र विचारलाई सम्मान गरियोस् अनि अघि बढ्ने शक्तिको स्रोत बनोस् । त्यसैले पनि बिस वर्षे कलकलाउदो उमेरमा आफ्नो लक्ष्य र विचार मिल्ने साथी भेटेकामा आफूले आफूलाई भाग्यमानी ठानेकी थिए।उसले सधैं भन्ने गर्थ्यो कि “तिमी जतिको महिलाले हिम्मत र परिवर्तनको चाहना राख्ने महिला यो समाजको लागि अतिआवश्यक छ, त्यसैले तिमीले समाजको लागि केही गर्नुपर्छ, म तिम्रा हर सुःखदुःख मा साथ दिने छु”। मलाई उसले अगाडि बढ्न सधै प्रेरित गर्थ्यो। जसले गर्दा मलाई सामाजिक कार्य गर्न थप उर्जा मिल्थ्यो।हाम्रो मित्रताको साईनोले विस्तारै नयाँ मोड लिदै थियो। सामाजिक तथा व्यक्तिगत सम्बन्धहरु भरोषाको एउटा सियोमा धागो अढिए झै संघर्षको यात्रामा पनि अघि बढ्दै थियो।अनि वैचारिक तर्क-वितर्कको एउटै गोरेटोमा सहयात्रीको रुपमा एकै रथका दुई पाङ्ग्रा भन्दा फरक थिएन ।
अझै सम्झना छ मलाई। घटना त्यो दिनको हो जुन दिन अफिसको कार्यलयमा म र उ मात्र थिए । त्यो दिन कार्यलयमा काम अलि चाप भएकोले अफिसबाट निस्किन लाग्दा साँझको करिव ८ वजेको थियो । कार्यलयभित्र म र उ बाहेक कोही थिएन । म आफ्नो काममा व्यस्त थिए।तर मैले नै धेरै ढिला भयो भनेर निस्कन अनुरोध गरे ।“जाउ है अव…” सवै झ्याल अनि पर्दा लगाउदै मैले उसलाई हिड्न अनुरोध गरे।उ पनि कामलाई थाति राख्दै हिड्न तयार भयो।उसले मलाई मायाले नानु भन्थ्यो। “झ्याल राम्रोसँग लगायौं नानु ?” “हजुर लगाए” मैले भने। साथै उ हिड्न तयार भयो सँगै मेरो तारिफ गर्दै थियो। “तिमी आज साह्रै राम्री देख्या छौ”। “सर पनि जिस्किनु हुन्छ त्यसै…” (मैले ख्याल ठट्टामै उत्तर दिए खित्त हाँसेर) उसलाई मैले सर भनेर सम्बोधन गर्थे। यत्तिकैमा बत्ति गयो।त्यतिबेला बत्ति गएको करिव आठ घण्टासम्म लोडसेडिङ हुन्थ्यो, त्यसैले तत्काल लाईन आउने कुरै थिएन। हतार हतार म नै मैन बत्ति खोज्न तिर लागे।मैन बत्ति खोज्दै गर्दा अध्यारोमा उ र म ठोक्किए।“सरी” ! भन्दै म मैन बत्ति खोज्ने धुनमा व्यस्त भए।पहिलोपटक आफूलाई मन पराएको मान्छे त्यसै पनि आफूले भरोषा गरेको मान्छे सँग ठोक्किदा मनमा नौलो तरगं पैदा भयो। तर पनि म त्यो तरगंलाई भित्रभित्रै दवाउदै थिए।अफिसको ढोका बन्द थियो।बाहिर रोडमा मान्छेहरुको आवत जावत र भुस्या कुकुरहरुको आवाज अफिस भित्र मज्जाले सुनिन्थ्यो। मैले मैन बत्ति बाल्दै भने “अव के के सामान मिलाउन बाँकी छ मिलाउनु ढिला भईसक्यो” ‘हुन्छ” उसले भन्यो ।बत्तिको सामुन्ने आएर मेरो अनुहार निहाल्दै उसले भन्यो “तिमी मलाई कति माया गर्छौं ?” “माया पनि यति भनेर भन्न मिल्ने चिज हो र”? माया त महशुश गर्ने कुरा हो…..मैले लजालु पाराले हाँस्दै जबफ दिए। उ मलाई अझै निहालिरहेको थियो।केही वेर हामीविच हेरहेर भईरहयो। हामी दुईविचको माया र यौन चाहना आपसमा घोलिन चाहिरहेको थियो।एक अर्कामा यौन चाहनाको चरम सुखको स्पर्शले ती शरिरका काँडाहरु धेरैवेर रहन सकेन।विस्तारै-विस्तारै ति स्पर्शहरुहरु आनन्दमा विलिन भयो।दुवै जना एकछिन सम्पूर्ण भौतिक सम्बन्धलाई विर्सेर जैविक आनन्दको संसारमा डुव्यौ । तर एकछिनको आनन्दमयको संसारले जीन्दगीमा पल पल रुवाउनेछ भन्ने कहाँ त्यतिखेर साचेकी थिएँ र मैले ? तर त्यहि सम्बन्ध पछि समाज र परिवारको घृणा, मैले जीवनभरीको लागि बोक्न नसक्ने भारी बन्यो।
ति दिनहरु सहजै कहाँ भुल्न सकुला र ? त्यो रातको सम्बन्ध पछि ऊ अचानक मबाट सम्पर्क विहिन भयो। बीचमा भेटघाट भएन। करिव चार महिनापछि उसको साथी मार्फत ऊ काम विशेषले जिल्ला बाहिर गएको खवर पाए। दिनहरु ऊ आउला र आफ्ना सारा कुराहरु भनौला भन्दै उसको बाटो हेरिरहे।तर उसको अत्तोपत्तो भएन।यसरी महिनौ विते उसको पखाईमा। दिनानुदिन गर्भमा उसको वच्चा हुर्किदै थियो।एक प्रकारले खुशी थिए भने एक प्रकारले म भित्रभित्रै पिडित पनि थिए।किनकि हाम्रो सम्बन्धले सामाजिक तथा कानुनी मान्यता पाएको थिएन।कसैलाई भन्न सक्ने न हिम्मत थियो न कुनै आधार नै थियो। दिनहरु बिते,महिना बिते। र बच्चा जन्मने दिन पनि नजिक आयो तर उसको अझै अत्तोपत्तो थिएन।विस्तारै म गर्भवति भएको कुरा घरकालाई थाहा हुदै गयो। सत्य कहिले पो लुक्थ्यो यसैपनि एक न एक दिन सबैले थाहा पाउनु थियो थाहा पाए। त्यसपछिका दिनहरु भने ज्यादै सकसका थिए जुन आज म सम्झिदा पनि….कहाली लाग्छन् ।
आज त्यो घटना घटेको करिव आठ वर्ष भइसक्यो। मेरो साथमा आठ वर्षकी छोरि छिन्। मैले छोरीलाई केही कुराको कमी त हुन दिएकी छैन।तर पनि उसले बाबाको बारेमा सोध्दा भने निशब्द हुन्छु।जे होस् खुसी छु म छोरीको साथमा।आफूलाई भन्दा पनि धेरै माया र भरोषा गरेको मान्छेको खुशीको निम्ति उसको मायाको चिनो साथमा बोकेर बसिरहेको समाज र परिवार त्यागे। आफ्नो लक्ष्य, परिवार, र समाजलाई छोडेपछिको यात्रा पक्कै सहज थिएन मेरो लागि तर पनि जीवन चल्लेन रहेछ चलाए।
आजभोलि सुन्छु उसले बिहे गरेर एउटा छोरा अनि परिवारसंग घरजम गरेर यहि काठमाडौमा बसेको छ रे। आफू पनि संसद भवन छिर्ने सांसद भएको छ रे।आमाको नामवाट पनि नागरिकता पाउनु पर्छ भनेर संसदमा वकलत गर्दै छ रे।सुन्दा… पनि अचम्म लाग्छ जसले एउटि केटीको इज्जत गर्न जानेन ,उसको मन र तनलाई मात्र आफ्नो बैसको भारि बिसाउने चौतारि सम्झियो।उहि नारी अधिकारको निम्ती वकालत गर्दै छ, सोच्छु मान्छे कतिसम्म ढोग गर्न सक्छन् कतिसम्म ढोगि हुन्छन्, आफैलाई ताजुक र हैरान पनि लाग्छ, हाँसो पनि लाग्छ अनि त्यस्ता पुरुषलाई तमाचा मार्दै भन्न मन लाग्छ तिमिले सोचेजति नारी त्यति लाचार र कम्जोर छैनन् जसको उदारण देवि दुर्गा, लक्ष्मि र कालि मात्र हैनन् म जस्ता नारीहरु पनि छन् जसले बिना बाबु आफ्नो सन्तानलाई यो धर्तिमा ल्याएर उचित शिक्षा र संस्कार दुबै दिएका छन् …।
टिनिनि…..टिनिनि।फोनको घण्टि बज्यो।म जसङ्ग भए।हत्त न पत्त फोन उठाए।अनि फेरी आफ्नो तितो विगतलाई थाती राखेर आशालाग्दो वर्तमानमा फर्के।
तपाईको प्रतिक्रिया