क्याबात, छोरीहरू !

सुर्य थापा ।
आफ्ना पिताजीको शव बोकेर आर्यघाट । अन्तिम संस्कारका सम्पूर्ण कर्मका जिम्मेवारी बहन र सामुहिक दागबत्ती दिएको क्षण । आमासँगै प्याराडाइज कोलनी सानेपामा पिताजीको किरियासमेत बसेका छन् –लुना, लिमा र लिजा, अर्थात् दिवंगत भरतमोहन अधिकारीका छोरीहरू ।
आदरणीय नेता भरतमोहन अधिकारीको निधनपछि उहाँका सचेत र सुयोग्य छोरीहरूलाई आमा मान्छेले सार्वजनिक रूपमा देखे र यसरी चिन्ने मौका पाए ।आफ्ना पिताजीको निधनको शोक कुनचाहिँ छोरीलाई नहोला र ?
तर झण्डै तीन महिना लामो अस्पताल बसाई र महङ्गो उपचारको व्यवस्थापन, हरपल रेखदेख, आमाको हेरविचार, पीडा लुकाएर हरक्षण सामान्य स्थितिमै बोलचाल–यी दिदीबहिनीहरूको समान विशेषता रह्यो । जबकि यसैबीचमा कान्छी छोरी लिजाले त पहिले ससुरा र अहिले बुबा दुबैको अवशानको शोक भोग्नुपर्यो !
मैले करिब एक दर्जन पटक ह्याम्स अस्पताल पुगेर यो सारा स्थिति आफैले देखें र महसुस गरें–समझदार र योग्यतम् छोरीहरू सायद यस्तै हुन्छन् !!
त्यसो त तीनवटै छोरीको विवाहमा भरतमोहन कमरेडले मलाई निमन्त्रणा गर्नुभएको थियो । तैपनि नजिकबाट बुझ्न संयोग मिलेको थिएन । हरेकलाई चिन्ने अप्ठेरोमै त हो ।
२०७५ फागुन १८ गते राती ९ः३५ बजे उहाँको निधनपछि छोरीहरू जसरी सम्हालिए, अनि शोक र श्रद्धाञ्जली एवं अन्त्यष्टिमा छोरासरह नै कर्तव्य र जिम्मेवारी पूरा गर्न जुटे, यो सामान्य कदापि होइन छोरीहरूले यति गरेपछि किन छोरा नै चाहियो त ? अनि छोरा र छोरीबीचमा के नै अन्तर बाँकी रह्यो र ? अन्तरहृदयदेखि बधाई छ ।
जस्ता बाबुका तस्तै छोरीहरूको यो व्यवहार अरूअरूका लागि पनि प्रेरक छ !!!
(नेकपाका नेता सूर्य थापाकाे फेसबुकबाट साभार)
तपाईको प्रतिक्रिया