गाउँपालिकाले आगलागीबाट विस्थापितलाई राहत प्रदान

नारीकोसिस डटकम चैत्र ३, खोटाङ । खोटाङको रावाबेंसी गाउँपालिकाले आगलागीबाट विस्थापित परिवारलाई राहत प्रदान गरेको छ ।
शुक्रबार दिउँसो स्थानीय गढीथुम्का र कासेघडेरी सामुदायिक वनबाट सुरु भएको भिषण डढेलोले घर जल्दा रावाबेंसी गाउँपालिका–५ दुबेकोलस्थित घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे र भीम पाण्डेका परिवार विस्थापित भएका थिए। विस्थापित उनीहरुलाई गाउँपालिकाले राहत प्रदान गरेको हो।
गाउँपालिका प्रमुख निरौला नेतृत्वको टोलीले आगोबाट विस्थापित भएका पीडितलाई शनिबार बिहान भग्नावशेष बनको घरमा पुगेर राहत प्रदान गरेको हो ।
डढेलोबाट सर्वस्व गुमाएका अग्नी पीडितलाई तत्कालका लागि राहतस्वरुप प्रतिपरिवार ६० केजी चामल, १० लिटर तेल, नुन, दाल, चिउरा, भाँडा, कम्बल, त्रिपाल लगायतका बन्दोवस्तीका सामान प्रदान गरिएको गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए ।
सामुदायिक वनबाट गाउँमा छिरेको डढेलोले रावाबेंसी र ऐंसेलुखर्क गाउँपालिकामा लाखौंको धनमालमा क्षती पुगेको छ। डढेलोले घर, नगद, सुन, चाँदी, अन्नलगायत जल्दा गोपालको परिवारको १५ लाख बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको छ । यस्तै, युवराजको परिवारको १३ लाख, भीमप्रसादको परिवारको ६ लाख र अभिकेसरको परिवारको ६ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
तपाईको प्रतिक्रिया