होलीमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना :आपसी सद्भाव र राष्ट्रिय एकता बलियो होस्

६ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले सबै नेपालीहरुमा होलीको शुभकामना दिएका छन् । उनीहरुले आपसी सद्भाव र राष्ट्रिय एकतालाई होलीले अझै बलियो बनाओस् भन्ने छुट्टाछुट्टै सन्देश जारी गरी कामना गरेका छन् ।
राष्ट्रपति भण्डारीले होली पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव , सहिष्णुता एवं राष्ट्रिय एकता राख्न सघाउ पुगोस् भन्ने कामना गरेकी छन् । सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै राष्ट्रपतिले सबैमा नयाँ उमंग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना साथै पर्वले अमूल्य संस्कृतिहरुको संरक्षण र प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले होलीको शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपालीमा सुख, शान्ति, सदभाव, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् भने ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई सार्थक बनाउन होलीले सबै नेपालीलाई प्रेरणा दिने विश्वाससमेत व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया