अजा होली पर्व हर्षोल्लासपूर्वक मनाइँदै

नारीकोसिस डटकम/ चैत ६, काठमाडौं । हिमाली र पहाडी जिल्लाहरुमा अजा बुधबार हर्षोल्लासका साथ होली मनाइँदैछ । तराई मधेसका जिल्लामा भने भोलिपल्ट होली मनाइन्छ । यी दुवै दिनहरुमा सरकारले सार्वजनिक विदा दिएको छ ।
आज बुधबार फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व, काठमाडौंसहित पहाडी तथा हिमाली क्षेत्रमा आपसमा रङ तथा फागु दलेर हर्षोल्लासपूर्वक मनाइँदैछ ।
विभिन्न रङ, अबिर र लोला खेलेर होली मनाउने परम्परा छ । वसन्त ऋतुको आगमनसँगै आपसमा खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ । होली पर्वलाई मेलमिलाप र सद्भावको पर्वको रुपमा पनि लिइन्छ ।
त्रेता युगमा हिरन्यकश्यपु नामक दानवले आफ्नै छोरा भगवान भक्त प्रल्हादलाई मार्नका लागि आफ्नी बहिनी होलिकाका साथमा आगोमा पठाएका थिए । भगवान विष्णुको प्रतापले प्रल्हादलाई आगोले केही नगरे पनि आगोले नजल्ने बरदान पाएकी होलिका भनें सो अग्निमा जलेर नष्ट भएको किम्बदन्ती होली पर्वसँग जोडिएको छ ।
होलीलाई मर्यादित र सभ्य बनाउन प्रहरी सक्रिय छ । विगतका वर्षजस्तो यस वर्ष होली पूर्णिमाको एक साता अगाडि देखि नै सडकमा हिँड्नेहरुलाई लोला हान्ने क्रम रोकिएको छ । दुर्घटनारहित होली बनाउने उद्देश्यले ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका ७७ स्थानमा जाँचको व्यवस्थासमेत मिलाएको छ ।
तपाईको प्रतिक्रिया