विद्यार्थी सफल हुने तरिका

कुनै पनि विद्यार्थीको चाहना हुँदैन कि आफूले परीक्षा बिगारौं र शिक्षक अभिभावकको चित्ता दुखाउँ भनेर, किनकि कहिलेकाहीं परीक्षा राम्रो हुँदैन । यसको अर्थ विद्यार्थीले मिहेनेत गरेन भनेर शिक्षक अभिभावकले गली गरेको पाइन्छ । तर वास्तविकता त्यो नभएर कुनै पनि विद्यार्थीको पढाइमा ध्यान नजानु या नपुग्नुका पछाडी धेरै मनोवैज्ञानिक कारण हुन्छन्, जसको ख्याल गरिएको हुँदैन । कतिपय अवस्थामा विद्यार्थी स्वयंले पनि आफू कमजोर भएको थाहा पाउँदैनन् ।
किशोर अवस्थाका विद्यार्थीको उमेर भनेको शारीरिक, मानसिक र वैचारिक रूपमै शारीरिक वृद्धि र हार्मोनको परिवर्तनको उमेर भएको हुँदा छिट्टै तनाव सिर्जना हुने, पढाइमा ध्यान नजाने र दिक्दारको अवस्था अनुभव गर्ने खालको उमेर हो । विद्यार्थीले परिक्षाको तयारी यसरी गर्न सकिन्छ :
१.सही तयारी
सर्वप्रथम त विद्यार्थीले आफ्ना पुस्तक, नोट कापीहरू, पेन, पेन्सिल, शब्दकोष लगायतका आवश्यक सामाग्री आफ्नो कोठामा या पढाइ कोठामा जतिबेला जे खोजे पनि भेटिने गरी तयारी अवस्थामा राख्नुपर्छ । विषयअनुसारका पुस्तक र सम्बन्धित नोटकापी एवं अन्य वस्तु छुट्याएर राख्नुपर्छ ताकी खोजेको बेलामा र पढ्नुपर्ने बेलामा भेटियोस् । परीक्षा दिन चाहिने प्रवेश पत्रदेखि घडी, क्यालकुलेटर, रफ पेपर जस्ता आवश्यक सामान सधैं तयारी अवस्थामा भयो भने कहिल्यै तनावको स्थिति आउँदैन ।
२.शिक्षकले पढाएको बेला ध्यान दिने
विद्यार्थीले सधैं कक्षामा शिक्षकले पढाइरहेको बेला ध्यान दिनु जरुरी छ । उमेरको कारण पनि मन चन्चल हुन्छ । साथीभाइको क्रियाकलापमामा ध्यान जान्छ, यस्तो अवस्थामा गहिरो स्वास २ र ३ पटक लिने, सेकेन्डको निम्ति आँखा बन्द गर्ने र फेरि २ र ३ पटक लामो गहिरो स्वास लिने गर्नुपर्छ । यसले ध्यान केन्द्रित हुन मद्दत पुग्छ ।
३.आफ्नो उद्देश्यमा लगनशीलता
विद्यार्थीको उद्देश्य आफ्नो पढाइ पूरा गर्नु हो । पढाइप्रति दिक्क मानेर उम्किने अवस्था होइन । किनभने यतिबेला अलिकति विद्यार्थीले सोच्नु पर्दछ कि म एउटा राम्रो पेशालाई अंगालेर जीवनलाई सुखी र अनन्दित बनाउंछु । म कुनै पनि पदमा रहेर काम गर्छु, मैले गरेको कामबाट समाजमा राम्रो सन्देश जओस् । सबैले मलाई राम्रो व्यक्तिको रुपमा चिनुन् भन्ने सोच लिएर पढ्ने हो भने पक्कै पनि पढाईमा सफलता हासिल गर्न सकिन्छ । भविष्यमा गएर यहि पढाइकै कारण पछुतो मान्नु नपरोस् । भनेर सोचेर अगाडि बढ्नुपर्दछ ।
४.अनुशासन
विद्यार्थीको सबैभन्दा ठूलो गुण अनुशासन हो । अनुशासित विद्यार्थी कहिल्यै असफल हुनै सक्दैन । कक्षा कोठामा हल्ला नगर्ने, पढाएको विषयमा ध्यान दिने, नबुझेको कुरा शिक्षकलाई सोध्ने अनुशासनका गुण हुन् । प्रश्न सोधेपछि के जवाफ आउँछ त्यसलाई नोट गरेर राख्नुपर्छ । आफू अनुशासित भयो भने छेउमा बस्ने साथी या पूरै कक्षा शान्त हुन सक्छ । सरसफाइ, मिठो बोलीबचन, सहयोगी भावना पनि अनुशासनभित्रै पर्छन् ।
५.शिक्षकसँग सल्लाह लिने
कक्षामा आफू मात्रै नहुने भएकोले अरू साथीहरू कस्ता छन्, साथीहरूले गर्दा कक्षा हल्ला हुन्छ या नबुझ्ने साथीहरू धेरै छन् भने कसरी कक्षाकोठा र पढाइ प्रभावकारी हुन्छ, शिक्षकसँग सल्लाह गर्ने । साथीहरुको समुह बनाएर छलफल गरेर पढ्ने गर्नुपर्दछ ।
७.नियमित नोट बनाउने
कक्षामा पढाइएको प्रत्येक विषयको बारेमा नोट बनाउने र बेलाबेलामा त्यसलाई पढ्ने र समीक्षा गर्नुपर्छ । नोट बनाउनाले नबुझेका कुरा फेरि शिक्षकसँग सोध्न सकिन्छ भने बुझेका कुरामा अरू प्रष्ट भइन्छ । नोट तयार पार्नु सफल विद्यार्थीको एउटा गुण हो । दिनभर पढेको साँझसम्म विर्सन सकिन्छ । नोट बनाएपछि विर्सने डर हुँदैन । यदि विर्सेको खण्डमा फेरी नोट हेर्न सकिन्छ ।
८.अभिभावकसँग खुलेर कुरा व्यक्त गर्ने
दिनभर विद्यालयमा के – के भयो भनेर सेयर गर्दा अभिभावकहरु खुसी हुन्छन् । शिक्षकसँग बुझेको कुरा या नबुझेको कुरा, साथीसंगतको कुरा या विद्यालय वातावरणको कुरा सबै अभिभावकसँग सेयर गर्ने विद्यार्थी असल विद्यार्थी र असल सन्तान पनि हो । विद्यालयका कुरा मात्र होइनन् आफ्ना व्यक्तिगत समस्या पनि अभिभावकसँग खुलेर व्यक्त गर्नुपर्छ । किनकि अव्यक्त भावना र मनभित्रका कुरा नभनेसम्म बुझ्न गाह्रो हुन्छ ।
९.समयको पालना र धैर्यता
समयको व्यवस्थापन विद्यार्थीको एउटा महत्त्वपूर्ण गुण हो । कक्षाकोठामा समयमा प्रवेश गर्ने, गृहकार्य, कक्षाकार्य समयमै गर्ने, खाजाखाने समयमा सकाउने र समयमा कक्षाकोठामा हाजिर हुने, घरबाट विद्यालय समयमै निस्कने, विद्यालय छुट्टी भएपछि समयमै घर पुग्ने बानी बसाल्नुपर्छ । जसले गर्दा शिक्षक र अभिभावकप्रति नै आफ्नो बारेमा विश्वास बढ्छ । समयको पालना गर्नाले धैर्यताको विकासमा सघाउ पुर्याउँछ ।
खेल्ने, गृहकार्य गर्ने, पढ्ने, अभ्यास गर्ने र फ्रेस हुने समयतालिका बनाएर त्यसअनुसार चल्नु विद्यार्थीको महत्त्वपूर्ण गुण हो ।
सकारात्मक सोचाइ र स्वस्थ खाना अनि शरीरको स्वास्थ्यमा पनि ख्याल पुर्याउनु विद्यार्थीको कर्तव्य हो । दिनमा ७ र ८ पटक खुलेर हास्ने, कक्षाकोठामा बस्दा पनि बीचबीचमा पानी पिउने, बाथरुम जाने, फुर्सदको समयमा एकछिन साथीहरूसँग खेल्ने, बेलाबेलामा पानी पिउने र सम्झेर बेलाबेलामा लामो गहिरो स्वास लिने बानी गर्दा स्वस्थ,स्वच्छ र फूर्तिलो अनुभूति हुन्छ ।



तपाईको प्रतिक्रिया