सर्लाहीमा श्रीमानद्वारा श्रीमतीको हत्या

नारीकोसिस डटकम/चैत ८, सर्लाही । सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा गए राति श्रीमानले धारिलो हतियार खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
नगरपालिका–५ स्थित रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्दै आएका उदयपुर जिल्लाको सुरुङ्गा नगरपालिकाका रामजी विश्वकर्माले ३३ वर्षीया श्रीमती सुनितालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक सुनिता बरहथवाको चक्र जनता बहुमुखी क्याम्पसमा पढाउँदै आएकी थिइन् ।
रामजीले श्रीमती सुनिताको घाँटी, हातखुट्टालगायत शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी हत्या गरेको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए । धारिलो हतियार प्रहारबाट सुनिताको घटनास्थलमै मृत्यु भएको थियो । यता श्रीमतीको हत्या गरेर भाग्दै गरेका रामजीलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ ।
प्रहरी नियन्त्रणमा रहेका रामजीले श्रीमती सुनिताले आफूलाई खुकुरीले प्रहार गर्न खोज्दा प्रतिकारमा उनको मृत्यु भएको प्रहरीसमक्ष वयान दिएका छन् । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रारास
तपाईको प्रतिक्रिया