६ महिनाभित्रै आकाशे पुल: कोटेश्वर र बानेश्वर चोकमा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
६ महिनाभित्रै आकाशे पुल: कोटेश्वर र बानेश्वर चोकमा

Share

नारीकोसिस डटकम/चैत११, काठमाडौं । काठमाडौंमा पैदलयात्रुको मुख्य चहल-पहल हुने कोटेश्वर र बानेश्वर चोकमा आकाशे पुल बन्ने भएको छ ।

पैदलयात्रीलाई समस्या भएको र ट्राफिक जाम व्यवस्थापनमा पनि मुस्किल परेपछि दुबै स्थानमा आकाशे पुल निर्माण गर्न लागिएको हो ।

यहाँ भविष्यमा सजिलै निकालेर अन्यत्र सार्न मिल्ने गरी अस्थायी प्रकृतिको पुल बनाइनेछ । यी दुबै चोकमा अन्डरपास बनाउने योजना पनि रहेकाले स्थायी संरचनासहितको पुल नबनाइने सडक विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठले बताए ।

प्रकृति पवन जेभीले यी दुई स्थानमा पुल तयार गर्नेछन् । अबको एक दुई हप्ताभित्रै कम्पनीसँग सम्झौता गर्ने तयारीमा विभाग छ ।

सम्झौता भएको ६ महिनमा पुल बनिसक्नेछ । बानेश्वरको पुलका लागि ३ करोड ५२ लाख र कोटेश्वरको लागि २ करोड ९० लाख रकम खर्च हुनेछ ।

हाल बानेश्वर र कोटेश्वर चोकमा उपत्यकाकै सबै भन्दा बढी पैदल यात्रुको चाप हुन्छ । कोटेश्वरमा चीन सरकारले रिंगरोड विस्तार गर्दा एउटा आकाशे पुल त बनाएको छ, तर चोक भन्दा निकै पर । जसका कारण यात्रुले त्यसका प्रयोग गर्ने गरेका छैनन् ।

कोटेश्वर चोकमा धेरै जाम हुनुको कारण बाटो काट्ने पैदलयात्रु पनि भएको निश्कर्ष निकालेपछि सरकारले आकाशे पुल निर्माण गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया