अग्निपीडित चेपाङ परिवारलाई राहत वितरण
नारीकोसिस डटकम/चैत १३, भरतपुर । चितवनका इच्छाकामना गाउँपालिका–२ फैदतका अग्निपीडितलाई जिल्लामा सङ्कलित राहत वितरण गरिएको छ ।
पिडित परिवारलाई जिल्ला विपत् व्यवस्थापन समितिको तर्फबाट मानवीय क्षति भएको परिवारलाई रु एक लाख १० हजार, इच्छाकामना गाउँपालिकाले रु ३५ हजार, प्रदेशसभा सदस्य घनश्याम दाहालले रु पाँच हजार, वडाध्यक्ष पञ्चबहादुर प्रजाका तर्फबाट रु दुई हजार सहयोग गरिएको हो ।
यस्तै आगलागीबाट क्षति भएका अन्य दुई परिवारलाई प्रशासन, गाउँपालिका, सांसद र वडाध्यक्षले २७-२७ हजार आर्थिक सहयोग गरेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । सो अवसरमा अग्निपीडित चेपाङ परिवारलाई नगदसहित खाद्यान्न र लत्ताकपडा वितरण गरिएको थियो । तत्कालका लागि सहयोग गरिएको र घर निर्माणका लागि पनि सहयोग जुटाइने बस्नेतले बताए ।
चैत ८ गते दिउँसो साढे १ बजे आगलागीमा परेर रामचन्द्र प्रजाको छ महिनाका छोरा शिव प्रजाको मृत्यु भएको थियो भने उनको घर आगलागीले जलेर नष्ट भएको थियो । यस्तै रामकृष्ण प्रजा र दीपक चेपाङको घर जलेर नष्ट भएको थियो ।
तपाईको प्रतिक्रिया