काठमाण्डौंको विभिन्न स्थानबाट एकरातमा १८ टन धुलो संकलन

नारीकोसिस डटकम/चैत १४, काठमाण्डौं । काठमाण्डौंको विभिन्न स्थानबाट एकरातमा १८ टन धुलो संकलन भएको छ ।
काठमाण्डौं महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म गरी १३ स्थानमा सफा गर्दा १८ टन धुलो जम्मा भएको महानगरपालिका कार्य सञ्चालन शाखाले जनाएको छ ।
सबैभन्दा धेरै धुलो रत्नपार्क, सुन्धारा, जमल, त्रिपुरेश्वर क्षेत्रका सडकबाट संकलन भएको थियो । यी क्षेत्रबाट डेढ टिप्पर धुलो संकलन भएको छ ।
ब्रुमर चलाउँदा सडकको धुलो ब्रुमरको ट्यांकीमा जम्मा हुन्छ । ४.६८ घनमिटर भण्डारण क्षमता रहेको ब्रुमरको ट्यांकी भरिएपछि टिप्परमा खनाइन्छ । सो धुलोलाई महानगरपालिकाको फोहर संकलन केन्द्र टेकुमा बिसर्जन गरिएको छ ।
काठमाण्डौं महानगरपालिकाले केही दिन अघि इटालियन कम्पनीद्वारा निर्मित पाँच वटा ब्रुमर काठमाडौं ल्याएको छ । पाँच ब्रुमरमध्ये चार वटा १६ टन र एउटा ६ टन क्षमताका छन् ।
१० किलोमिटर प्रतिघण्टा क्षमताका यी ब्रुमरले सडकको न्युनतम २६ सय मिलिमिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्छन् ।
तपाईको प्रतिक्रिया