उमेरले नछेकेको लिलादेवीको रोचक जीवनशैली……………………..!

निर्मला सापकोटा सञ्जेल/रमिला तामाङ । काठमाडौं । लिलादेवी तिवारी सिराहका मिर्चैया स्थायी घर भई हाल काठमाडौंको काँडाघारीमा छोरा–वुहारी, नाती–नातीनीहरुसँग बस्दै आइरहेकी छिन् । उमेरले उनी अहिले ६६ वर्षकी भइन् । तर उनको क्रियाकलाप, सोचाई र विचारलाई हेर्ने हो भने भर्खर युवा अवस्थामा प्रवेश गरे झैं लाग्छ । एक प्रकारले भन्ने हो भने यो उमेर भनेको शारीरिक रुपमा अशक्त तथा कुनै पनि कार्य सहज ढंगले गर्न नसक्ने उमेर वा वेला हो । जसले गर्दा कतिपय वृद्ध-वृद्धा आमा-वुवाहरु यो उमेरमा दिगदारी तथा एक्लोपनाको महसुस भई मानसिक रुपमा पीडित जीवन गुजारिरहेका हुन्छन् । तर लिलादेवीको जीवनशैली अलि फरक छ । न उनी शारीरिक रुपमा नै अशक्त भएको महसुस गर्छिन, न कुनै मानसिक रुपमा नै दिगदारी तथा एक्लोपना नै महसुस गर्छिन । अझै पनि उनमा जुनसुकै कार्य गर्न सक्छु भन्ने आत्माविश्वास छ ।
उनी विहानको साडे तीन वजे उठ्छिन अनि आफ्नो नियमित नृत्यकर्म गरी विहानको पाँच न वज्दै ग्लोवल स्कुलको ग्राउण्डमा पुग्छिन् र स्वास्थ्यलाई स्वस्थ र फूर्तिलो बनाउने उद्देश्यका साथ योगा सिकाउनमा तल्लिन हुन्छिन् । यी ६६ वर्षीया आमाको सक्रियताले अन्य महिलाहरुलाई पनि हौसला मिलेको योगा सिक्न आउनेहरु बताउँछन् । साथै योगाले शरीरलाई फाइदा गरे सँगै बेलुका सुत्ने र विहान समयमै उठ्ने बानी बसेको उनीहरु बताउँछन् ।
उनले विहान योगा सिकाए वापत् कुनै शुल्क लिदिनन् । ६ वर्ष देखि निरन्तर योगा गुरु प्रशिक्षकका रुपमा स्वास्थ्य जीवनशैली सम्बन्धी सामाजिक कार्य गर्दै आइरहेकी उनी सामाजिक कार्य सँगै घरायसी कार्यमा आफूलाई व्यस्त बनाएर शरीरलाई सक्रिय राख्छिन् । अहिले उनलाई मानसिकता शारीरिक रुपमा ठूलो रोगले नसताएको उनी बताउँछिन् ।
स्वास्थ्य विज्ञहरुका अनुसार नियमित व्यायम गर्नाले शरीरलाई स्वस्थ बनाउन सहयोग गरे सँगै सकारात्मक सोचमा वृद्धि गराउँछ । जुन स्वास्थ्य स्वस्थ राख्नको निमित्त अति आवश्यक तत्व हो सकारात्क सोच । साथै स्वास्थ्यलाई स्वस्थ राख्न शरीरलाई चलायमान राख्नुपर्छ । यसै अनुरुप लिलादेवीले बद्लिदो समाज-परिवेश तथा जीवनशैली, आफ्नो बढ्दो उमेरसँगै आउने निष्क्रियताबाट निम्तीने विविध समस्याहरुलाई न्युनिकरण गर्न शारीरिक रुपमा शरीरलाई चलायमान राख्ने उनको यो एउटा स्वस्थ जीवनशैली हो भन्न सकिन्छ। यो जीवनशैलीले उनको मोटापना नियन्त्रण भए सँगै हिडडुल गर्न सहज भएको उनी बताउँछिन् ।
उनको दैनिकी क्रियाकलाप, सकारात्मक सोच र सक्रियताप्रति घरपरिवार समेत खुशी र उत्प्रेरित छन् । विश्व प्रसिद्ध मदर टेरेसाले भनेकी छन् कि “यो जीवन अरुका लागि होइन भने यो जीवन नै होइन ।” अर्थात मदर टेरेसाले भने झैँ जीवनमा आफ्ना लागि मात्र नभई समाजको लागि पनि केही गर्नुपर्छ भन्ने भनाइलाई व्यवहारिक रुप दिएको भन्दा फरक नपर्ला लिलादेवीलाई । मानिसले जन्मिएपछि समाज र देशको लागि पनि केही गर्नुपर्छ भन्ने सोच बोकेकी उनी अरुलाई पनि जीवनमा आफ्ना लागि मात्र नभई समाजको लागि पनि केही गर्नुपर्छ भन्ने सन्देश दिन्छिन् ।
आफ्नो शरीरलाई स्वस्थ र फुर्तिलो बनाउनु त छँदै छ अरुलाई पनि स्वस्थ र फुर्तिलो बनाउन नियमित व्यायममा लागी परेकी उनी आफ्नो शरीरलाई सक्रिय बनाई राख्नका निमित्त पारिवारिक घरधन्दा देखि समाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् ।
सूचना प्रविधिको विकास सँगै विभिन्न कालखण्डमा भएको राजनीतिक परिवर्तनले फड्को मारीसक्दा पनि अझै नेपाली समाजमा वाल विवाह कायमै छ भने यो भन्दा साढे ६ दशक अगाडी वालविवाह हुनु स्वभाविक हो । त्यतिखेरको नेपाली समाजको मुल्यमान्यताले बाँधिएकी एक उदाहरणनीय पात्र हुन लिलादेवी पनि । उनको विवाह १३ वर्षको उमेरमा भयो । १५ वर्षमा जेठो छोरो जन्माएकी उनी भन्छिन् “मेरो पढ्ने उमेरमा विवाह भयो पढन् पाइन तर मैले आफ्नो इच्छालाई कहिले मारिन र पढ्नमा मेरो रुची देखेर मलाई जेठो छोराले स्कुलमा भर्ना गरिदिए, छोराले आफ्नो फुर्सदको समयमा पढ्न लेख्न सिकाए, अनि मैले ४० वर्षको उमेरमा एस.एल.सी पास गरे, अझै पढ्न मन छ ।”
एस. एल. सी पास पछि उनले कृषि विभागमा नाम निकाली काम पनि गरिन् । जहाँ प्रयोगात्मक रुपमा उनको काम उत्कृष्ठ रह्यो । जसबाट उनी सम्मानित पनि भइन् । तर उनले औपचारिक शिक्षा र पारिवारिक परिस्थिका कारण जागिर छोडिन् । जसले गर्दा झन उनका लागि पढाई प्राथमिकता बन्यो ।
जीवनमा ज्ञान नै सबै भन्दा ठूलो मान्ने लिलादेवी ज्ञान हाँसिल गर्नका निमित्त विविध समाजिक कार्य तथा तालिमहरुमा सहभागी हुने उनी आम रुपमा पढाई तथा ज्ञान हाँसिल गर्नुपर्नेमा जोड दिन्छिन् । ६६ वर्षको उमेरमा पनि आफ्नो जीवनशैलीलाई यसरी व्यवस्थापन गर्न सफल भएकी लिलादेवीले जस्तै गरी आम व्यक्तिले स्वस्थ जीवनशैली अपनाएमा बद्लिदो अनुकुल वातावरणले स्वास्थ्यमा ल्याउन सक्ने स्वास्थ्य समस्याहरुलाई केही हदसम्म व्यवस्थापन गर्न सकिनेमा कुनै दुई मत छैन ।
भिडियोको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्:
तपाईको प्रतिक्रिया