कैलालीमा पत्रकार बिष्टमाथि कुटपिट

नारीकोसिस डटकम/वैशाख २३, कैलाली । धनगढीस्थित दिनेश एफएममा कार्यरत पत्रकार जनक बिष्टमाथि कुटपिट भएको छ ।
बिष्टलाई धनगढीका व्यापारी तेजेन्द्र थापाले कुटपिट गरेका हुन् । त्रिनगर माध्यमिक विद्यालयले कम्प्लेक्सको भाडामा दिएका सटरको रिपोर्टिङ गर्न गएका समयमा विद्यालय हाताभित्रै व्यापारी थापाले पत्रकार बिष्टलाई कुटपिट गरेका थिए। थापाले त्रिनगर माविको प्रधानाध्यापकको कार्यकक्षमा तथ्यांक संकलन गरिरहेका बेला बिष्टमाथि कुटपिट गरेका थिए।
विद्यालयका केही सटरको भाडादर एकदमै न्यून रहेको र केहीको भाडादर अत्याधिक रहेको गुनासो आएपछि पत्रकार बिष्ट समाचार संकलनका लागि विद्यालय परिसर पुगेका थिए।
त्रिनगर कम्प्लेक्समा व्यापार गर्दै आएका थापाले न्यून मूल्यमा सटर भाडामा लिएको भन्ने विषयमा जानकारी लिन विद्यालयका प्रधानाध्यापकसँग कुराकानी गर्दैगर्दा पत्रकार बिष्टमाथि कुटपिट गरिएको थियो ।
कुटपिट पछि पत्रकार बिष्ट घाइते छन्।उनको अनुहार र शरीरमा चोट लागेको छ । घाइते बिष्ट सेती अञ्चल अस्पतालमा उपचारपछि घर फर्किएका छन्। कुटपिटमा संग्लन थापा भने फरार रहेको प्रहरीले बताए ।
तपाईको प्रतिक्रिया