बागलुङमा सडेको अवस्थामा दुई शव फेला

नारीकोसिस डटकम/वैशाख २४, बलेवा । बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो । सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले घर्तीको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनको शव पूरै सडेको अवस्थामा भए पनि उनले लगाएको कपडा र चप्पलले पहिचान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवेन्द्र भट्टराईले जानकारी दिए ।
घर्ती चार महिना अघिदेखि बेपत्ता थिए । मानसिक समस्या रहेका उनलाई परिवारले खोजी गरिरहेको भए पनि सोमबार मात्रै उनको शव जङ्गलमा फेला परेको हो । उनको शव परीक्षणका लागि प्रहरीले धवलागिरि अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै जिल्लाको जैमिनी नगरपालिका–८ को कालीगण्डकी नदीकिनारमा एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।
शवको पहिचान हुनसकेको छैन । शव परीक्षणका लागि जिल्ला सदरमुकामस्थित धवलागिरि अञ्चल अस्पताल ल्याइएको छ ।
तपाईको प्रतिक्रिया