महिलाका नाममा उद्योग दर्ता गरे ३५ प्रतिशत छुट पाउने

नारीकोसिस डटकम/वैशाख २४, काठमाडौं । महिलाका नाममा उद्योग दर्ता गर्दा छुट दिइने भएको छ । महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गर्दा लाग्ने दस्तुर शुल्कमा ३५ प्रतिशत छुट हुनेछ ।
उद्योगलाई व्यवस्थित गर्न र उद्योग संरक्षण गर्न विभिन्न योजना ल्याउन लागिएको सरकारले जनाएको छ । दर्ता नगरी उद्योग संचालन गरे तत्काल बन्दसहित जरीवाना हुने भएको छ ।
संघीय संसद सचिवालयमा औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ मा उक्त कुरा उल्लेख छ ।
उक्त विधेयकमा उद्योगी व्यवसायीलाई आयकर, भन्सार महसुलमा छुट, लघु उद्यामी तथा महिला उद्यमीलाई विभिन्न छुट सुबिधा, उद्योग स्थापना गर्न जग्गा प्राप्तिमा सहजीकरण लगायतका अन्य छुट, सुविधा र सहुलियत दिने व्यवस्था गरिएको छ ।
विधेयकमा उद्योग दर्ता गर्ने निकायले ऐन बमोजिम दर्ता गर्न अस्वीकार गरेमा सो उपर चित्त नबुझ्ने निबदेकले ३० दिनभित्र उद्योग विभागविरुद्ध मन्त्रालयमा र प्रदेशको निकायले त्यस्तो गरेको भए सम्बन्धित उद्योग हेर्ने मन्त्रालयसमक्ष उजुरी दिन सक्नेछ ।
उक्त विधेयक अनुसार लघु, घरेलु, साना, मझौला र ठूला गरी ५ प्रकारका उद्योग रहने छन् । यी पाँच उद्योगको पनि वर्गीकरण गरिएको छ । यस ऐनबमोजिम दर्ता भएका कुनै उद्योग राष्ट्रियकरण नहुने व्यवस्था छ । विधेयकको दफा ४० मा पूर्ण रुग्ण, रुग्ण र रुग्ण उन्मुख हुने गरी ‘रुग्ण उद्योगको वर्गीकरण’ गरिएको छ ।
तपाईको प्रतिक्रिया