यार्सा संकलन गर्न लेकतिर लर्को: विद्यालय बन्द

नारीकोसिस डटकम/वैशाख २७, बझाङ । विगतको वर्ष जस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् ।
तीन महिना यार्सा सङ्कलन गरेर झण्डै एक वर्ष खान पुग्ने भएपछि स्थानीयवासीको सबै परिवार सहित यार्सा सङ्कलन गर्न लेकतिर जाने गरेको स्थानीय उमेश बोहराले बताए ।
यहाँका धेरैजसो स्थानीयवासीले यार्सा सङ्कलनबाटै सदरमुकाम चैनपुर, धनगढी कैलाली महेन्द्रनगर कञ्चनपुर, काठमाडौँसम्म घर तथा जग्गा खरीद गरिसकेका छन् ।
अहिले लेकमा हिउँ भएको भए पनि तल्लो भेगतिर यार्सा पाइन थालेपछि लेकतिर जान थालेका हुन् । वैशाखको पहिलो साताबाट लेकतिर जाने गरेका यहाँका स्थानीयवासी असारको अन्तिमतिर मात्र घर फर्किन थाल्छन् ।
यहाँ पाखो जमीन भएका कारण उब्जनी नहुने र तीन महीना यार्सा सङ्कलन गरेर वर्षभरिका लागि परिवारको लालनपालन गर्ने गरेको उनले बताए ।
बझाङ जिल्लाका धेरैजसो सरकारी विद्यालय तीन महीनाका लागि बन्द भएका छन् । विद्यालयमा पढ्ने उमेरका सबै विद्यार्थी र अभिभावकसमेत यार्सागुम्बा टिप्न लेकतिर लागेपछि यहाँका विद्यालय असार मसान्तसम्मका लागि बन्द भएका हुन् ।
तपाईको प्रतिक्रिया