‘मदर्स डे’

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
‘मदर्स डे’

Share

आमा
हजुर त आकाश जत्तिकै
फराकिलो हृदय
बोकेर
हिँडिरहनु हुन्छ
सन्तानको
एक घुट्का खुशीको लागि
आफ्नो प्राणै दाउमा
राखेर

आमा
हजुर त घाम जत्तिकै
जून जत्तिकै निस्वार्थ
बनेर
हिँडिरहनु हुन्छ
सन्तानको
निराशाका वादलहरु फाट्दै
बेखुशीका अन्धकारहरु काट्दै
खुशीका किरणहरु
सुखका रङ्गहरु
छरेर

आमा
हजुर त धर्ती जत्तिकै
बिशाल
मुटु बोकेर
हिँडिरहनु हुन्छ
सन्तानका
सपनाहरु साकार पार्न
आफ्न इच्छाहरुको
गला रेट्दै

आमा
हजुरबाटै पाएको हुँ मैले
यो अमुल्य जीवन

जीवनको परिभाषा पनि
अनि
हजुरबाटै
सिकेको हुँ मैले
सहनशीलताका पाठ
धैर्यताका शिक्षा
समग्रमा
जिन्दगी जीउँने
सुन्दर शैली

आमा
म सँग एक हुल
प्रश्नहरु छन्
हजुर
कसरी बनाउनु हुन्छ
हृदयलाई त्यत्ती फराकिलो
कसरी बनाउनु हुन्छ
मुटुलाई त्यत्ती विशाल

कसरी बन्नु हुन्छ
त्यत्ती बिघ्न निस्वार्थ

आमा
थाहा छैन
कुन सोच लिएर
कुन आकंक्ष लिएर
कुन उदेश्य लिएर
मलाई
जन्म दिने
निधो गर्नु भयौ
राखेर नौ नौ महिना
गर्भ भित्र
विगारी विगारी
शरीरको सौन्दर्य
टेकाउनु भयौ
धर्तिमा
मृत्यु सँग लड्दै
त्यो असहाय प्रसव
पीडामा पनि
हाँस्दै
रम्दै

आमा
हजुर जस्तै कारुणिक
हजुर जस्तै उदार
बन्दै
खोज्नु छ
मैले
यो
आँखाले नदेखिने
यो
हातले नभेटिने
जन्मको
कारण
मृत्युको
कारण
र तिर्दै जानू छ
हजुरका एक एक
गुणको मुल्य
टेक्दै सत्यका
मैदान माथी
हिड्दै सत्यकै
बाटोहरु
यत्ती
भएपछि
क्यालेन्डरले
बाह्र महिना फन्को
लगाएर आउने
एक दिने
मदर्स डे को
त्यत्ति ठूलो महत्त्व
नहुन सक्छ
किनकी
वर्ष भरिकै एक एक
दिन “मदर्स डे”
हुनेछन् !

सुरेशमान रुम्बा तामाङ
नुवाकोट ,बेलकोटगढी–१३
बारही ।

तपाईको प्रतिक्रिया