पोष्टबहादुर बोगटीको सम्झनामा: शुरु भयो ककनीमा कृषि प्रदर्शनी मेला

नारीकोसिस डटकम/जेठ ५, नुवाकोट । नुवाकोट जिल्लाको पर्यटकिय स्थल ककनीमा ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६’ शुरु भएको छ । उक्त मेला ककनी गाउँपालिका–१, रानीपौवा बजारमा दिवगंत पोष्टबहादर बोगटीको सम्झनामा शनिबारदेखि सुरु भएको हो । सो मेलाको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको हो । विद्युतीय उपकरणमार्फत मकै छोडाएर मेलाको उद्घाटन गर्दै दाहालले मुलुकलाई समृद्धिको मुख्य आधार कृषि भएकाले यसलाई आकर्षक पेशाका रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।
मेलामा सहभागी नेताहरुले दिवङ्गत नेता बोगटीले कृषकको अधिकार स्थापना र विकासका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने अभियानमा पुर्याएको योगदानको स्मरण गर्नुभयो ।
मेलामा नेकपाका नेता पम्फा भुसाल, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, प्रदेससभा सदस्य केशवराज पाण्डे, बद्रीप्रसाद मैनाली लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।
मेलाको अवलोकन गर्न पहिलो दिन पूर्वमन्त्री जनार्दन शर्मा, अग्निप्रसाद सापकोटा, प्रदेश नं ३ का उपसभामुख राधिका तामाङलगायतका स्थानीय जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
पाँच दिनसम्म चल्ने उक्त मेलामा नुवाकोटका १२ वटै स्थानीयतहको पहिचान झल्कने कृषि तथा वन पैदावरका उत्पादन बिक्री तथा प्रदर्शनीमा राखिएका छन् ।
मेलामा आकर्षकका रुपमा स्ट्रबेरी, ट्राउट माछा, शिखरबेंसीको सु–प्रसिद्ध चामल, पिँडालु, आलु, किम्ताङको अर्गानिक चिया, कफी, विभिन्न जातका तरकारी र अन्नबाली लगायत बाख्रा, बोयर र जमुनापारी जातका बोका, खसी प्रदर्शनीमा राखिएको छ । साथै मेलामा कृषि औजार, यान्त्रिकीकरण, तरकारी एवं फलफूलको बीउ, बिरुवासमेत प्रदर्शनीमा राखिएका छन् ।
पूर्वमन्त्रीसमेत रहनुभएका तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय उपाध्यक्ष तथा अखिल नेपाल किसान महासङ्घको केन्द्रीय अध्यक्षसमेत भएर कृषि क्षेत्रमा योगदान पुर्याउनुभएका पोष्टबहादुर बोगटीको वि.सं. २०७१ भदौ ३० गते हृदयाघातका कारण निधनको भएको थियो । पार्टीमा राम्रो छवी बनाउन सफल नेताका रुपमा परिचित नेता बोगटीले पुर्याउनुभएको योगदानको जनस्तरसम्म स्थापित गराउन पार्टीले विसं २०७२ असोज २८ गते ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’ गठन गरेको थियो ।
तपाईको प्रतिक्रिया