गएराति रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द

नारीकोसिस डटकम/जेठ २९, पर्वत । जिल्लाको सामुदायिक रेडियो ‘रेडियो पर्वतमा गएराति आगालागी भएको छ ।
राति १ बजेको समयमा विद्युत चुहिएर आगलागी हुँदा रेडियोको ट्रान्समिटर, सात कम्प्युटर, २ मिक्सचर हाइब्रिड टेलिभिजनलगायतका सामग्री पूर्णरूपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शङ्कर शर्माले जानकारी दिए ।
आगलागी भएसँगै बिहानदेखि रेडियोको प्रसारणसमेत बन्द भएको छ । कुनै पनि सामान काम नलाग्ने भएकाले बन्द गर्नुको विकल्प नभएको शर्माले बताए । उनका अनुसार आगलागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राति २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट रेडियो सञ्चालित घरका तीन कोठामा समेत क्षति पुगेको छ । झण्डै रु ३० लाखभन्दा बढीको क्षति भए पनि यकिन विवरण भने आइनसकेको शर्माले जानकारी दिए ।
तत्काल थाहा पाएका कारण कुनै मानवीय क्षति हुन भने नपाएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
२०६४ देखि ग्रामीण क्षेत्र फलेवासबाट प्रसारण हुँदै आएको रेडियो पर्वत यस क्षेत्रको पहिलो सामुदायिक रेडियो हो ।



तपाईको प्रतिक्रिया