इनरुवामा पनि डेंगुका बिरामी भेटिए

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
इनरुवामा पनि डेंगुका बिरामी भेटिए

नारीकोसिस डटकम/असार ४, सुनसरी । सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ। इनरुवा–९ बबियाका संसाद अन्सारीलाई डेंगुको सङ्क्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सम्पर्क व्यक्ति सुलोचना चौधरीले जानकारी दिए ।

धरानमा डेंगुको बिरामी भेटिएपछि इनरुवामा समेत बिरामी भेटिन थालेको अस्पतालले जनाएको छ। इनरुवामा डेंगुको बिरामी भेटिएपछि वडा कार्यालयले डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

इनरुवाको १, ३, ६, ९ र १० वडामा डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले बताए ।

नगरपालिकाले सचेतनासम्बन्धी विद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालनको तयारी शुरु गर्दै वडा नं ३ र ९ मा स्वयंसेविका, आमा समूह, सङ्घसंस्थाका पदाधिकारी लगायतको उपस्थितिमा सावधानी र सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

स्वास्थ्य कार्यालय सुनसरीबाट खटिएका स्वास्थ्यकर्मीसहित सम्बन्धित क्षेत्रका जानकारले सचेतनासम्बन्धी प्रशिक्षण दिइरहेका अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया